देश

कञ्चनपुरमा विवाहमा गएका युवक मृत फेला

जगत ठाडा मगर
२०७८ माघ ५ | मध्यान्ह ०३:१० बजे

धनगढी, ०५ माघ । कञ्चनपुर विवाहमा गएका शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका अन्दाजी २८ वर्षीय विरेन्द्र बहादुर चौधरी आज मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर वमका अनुसार गाउँ नजिकैको विवाहमा राति सहभागी भएका चौधरी बिहान बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो।

‘मृत्युको कारणबारे अनुसन्धानको कार्य भइरहेको छ,’ उनले भने, ‘के कति कारणले मृत्यु भएको भन्ने बारे बुझ्दैछौँ । गोठमा सुतेका चौधरी नउठेपछि बिहान उठाउन जाँदा बेहोस अवस्थामा भेटिएको वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरीले बताए।

‘विवाह भैरहेको घरको अर्को घरको गोठमा सुतेका चौधरी बिहान नउठेपछि स्थानीयले उठाउन खोजे तर उठेनन्,’ वडाध्यक्ष चौधरीले भने,‘नउठेपछि प्रहरीलाई खवर गरी अस्पताल पुर्‍यायौँ। त्यसअघि नै मृत्यु भैसकेको रहेछ।’

स्थानीय बासिन्दाका अनुसार चौधरीले विवाहमा राती मदिरा सेवन गरेका थिए। शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।

कमेन्टहरु