जातीय भेदभाव गर्नेलाई पक्राउ गरि आवश्यक कानुनि उपचारकाे माग गर्दै प्रहरिमा उजुरी


मंसिर३०,धरान ।
धरान उपमहानगरपालिका वडा नम्बर ८ सिद्धकाली चौकमा बस्ने गंगा लिम्बु र माला राईले दलित समुदायका व्यक्तिलाई भेदभाव तथा अपमान जन्य व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ ।
मंसिर २८ गते नै धरान– ८ का जुद्ध लोहनीले किटानी जाहेरी दिए पनि हालसम्म प्रहरीले पक्राउ नगरेको भन्दै उनले शहर बजारमा समेत आफुलाई जातीय भेदभाव तथा छुवाछूत जन्य व्यवहारप्रति आपत्ति जनाउँदै कानूनी कार्बँहीको माग गरेका छन् । विश्वकर्मा जातिको लोहनी थरका जुद्धबहादुर राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व धरान नगर अध्यक्ष हुन भने पूर्व प्रहरी समेत हुन् । जुद्ध लोहनी विश्वकर्मा कल्याण सेवा समितिका उपाध्यक्ष समेत हुन् । धरानको दलित आन्दोलनका अगुवा समेत हुन् ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले गंगा लिम्बु विरुद्ध भेदभाव तथा अपमान जन्य सम्बन्धी कसरमा जाहेरी दर्ता गरिएको बताए ।
दर्ता नं. १४७।०७७।०७८ मा दर्ता भएको उक्त उजुरीमा माला राईको घरमा भाडामा बस्ने ५५ वर्षीया गंगा लिम्बुले ‘कामी, डा“ग्रा’ जस्ता अपमानजन्य भाषाको प्रयोग गर्दै सार्वजनिक स्थलमा जातीय विभेद र गालिगलौज गरिएको उल्लेख गरिएको छ ।
माला राईको घर नजिकै रहेका जुद्ध लोहनी विश्वकर्माको घर रहेको छ । लोहनीको भतिजि रोजिनाको मृत्यु भएकोले १३ दिने शुद्धाईका दिन सरसमान लिन घरमा पिकअफ भ्यान ओहोर–दोहोर गर्दा राईको वालमा गाडिले छोएको भन्दै माला र गंगाले तथानाम जातीय गाली बेइजति गर्दै सामाजिक रुपमा नै अपमान गरेको निवेदक लोहनीले बताएका छन् ।
पीडकका विरुद्धमा किटानी जाहेरी दिए पनि प्रहरीले पक्राउ नगर्नु तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले फोन गरेर मिलापत्रका लागि छलफल गरौं भनेपछि न्याय नपाउने आशंका बढेको बताए । उनले भने–‘म जस्तो सचेत व्यक्ति माथि त जातीय भेदभाव हुन्छ, त्यो पनि धरान जस्तो सहरमा ।
बोल्न नसक्ने गाउ“घरमा कति हाम्रा मान्छेले सहेका होलान् म आश्चर्यमा परेको छु । मैले न्याय पाउनु पर्छ त्यसका लागि सबैलाई गुहार मागेको छु ।’
लोहनी माथि भएको जातीय विभेद तथा दुवर्ब्यवहारका विषयमा संयुक्त दलित संघर्ष समितिमा समेत छलफल भएको छ ।
जातीय विभेद गरेर गालीगलौज तथा अपमान गर्नेलाई प्रहरीले तत्काल पक्राउ गरी जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन २०६८ तथा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० अन्तर्गतको कसुर र सोही ऐन बमोजिम १ लाख जरिवाना र ३ वर्ष कैदको माग गरिएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पीडितले जाहेरी दिएको र आरोपितलाई पक्राउ गरि आवश्यक अनुसन्धान अगाडि बढाइने बताएका छन् ।























