कारमा राखिएको लागुऔषधसहित चार युवक पक्राउ


बिनोद मण्डल
सिरहा, ०३ माघ । सिरहाको सीमावर्ती क्षेत्रमा कारमा लागुऔषध तस्करी गरिरहेको चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय माडरले सीमावर्ती भारतीय बजारबाट ल्याएको प्रतिबन्धित लागुऔषधसहित चार जना युवकलाई पक्राउ गरेको हो । बा ४ च १३३४ नम्बरको कारमा लुकाइराखेको लागुऔषध नाइट्राभेट–१० नामक ट्याब्लेट ६० पत्ता (९००पिस) प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१० करताहाका ३१ वर्षीय संजिव खड्का, सोही ठाउँका १९ वर्षीय सुजन धामी, २१ वर्षीय अरबिन कुमार दनुवार र २५ वर्षीय उमेश कुमार दनुवार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरिक्षक पवन कुमार झाले बताएका छन् ।
पक्राउ परेका उनीहरु सिन्धुलीवाट लागुऔषधकै निम्ति सिरहाको सीमावर्ती क्षेत्र माडर पुगेका थिए । उनीहरुलाई कार सहित जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसंधान अगाडी बढाइएको प्रहरी निरिक्षक झाले बताए ।






















