मुख्य समाचार

दूरसञ्चार सेवाबाट कोही पनि नागरिक बञ्चित हुने अवस्था नआउन् : मन्त्री कार्की

जगत ठाडा मगर
२०७८ माघ ३ | मध्यान्ह ०४:१० बजे

काठमाडौं, माघ ३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ग्रामीण क्षेत्रका जनताले सर्वसुलभ दूरसञ्चार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले आज जमलस्थित नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयको निरीक्षणपछि आयोजित एक कार्यक्रममा बोल्दै सूचना र प्रविधिको युगमा दूरसञ्चार जस्तो आधारभूत सेवाबाट कोही पनि नागरिक बञ्चित हुने अवस्था आउन नदिन तदारुकताका साथ योजना कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

मन्त्री कार्कीले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा विलम्ब नगरी यस वर्षका योजना र कार्यक्रमको कार्यान्वयन गर्न सो अवसरमा निर्देशन दिए । उनले भने, `कोरोना भनेर ढिलासुस्ती नगर्नुहोला, कार्यक्रमलाई परिणाममुखी बनाउनु पर्छ । प्राधिकरणलाई आवश्यक नीतिगत सहयोग गर्न सरकार तयार छ ।´ उनले सबैले आफ्ना अधिकार र कर्तव्य बोध गरेमात्रै विकासको परिकल्पना पूरा गर्न सकिने उल्लेख गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले दूरसञ्चार क्षेत्रको विकास, विस्तार र विश्वसनीयताका लागि नियमनकारी निकाय र सेवाप्रदायक कम्पनीबीच समन्वय बढाउनुपर्ने धारणा राखे । उनले नयाँ दूरसञ्चार ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको एवं दूरसञ्चार नीति, ब्रोडब्याण्ड नीति र सञ्चार तथा सूचना प्रविधि नीतिलाई एकीकृत गरी नयाँ सूचना प्रविधि नीति ल्याउन पहल भइरहेको जानकारी दिए ।

त्यस्तै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणबाट सम्पादित विभिन्न कार्यक्रमका बारेमा जानकारी दिँदै दूरसञ्चार सेवालाई भरपर्दो र सर्वसुलभ बनाउन आवश्यक नीतिगत सुधारका बारेमा प्रकाश पारे ।

कमेन्टहरु