दीप बस्न्यातको सम्पति सुन्दै ढल्छन् मान्छे, उपराष्ट्रपति र गृहमन्त्रीका छोरा पनि साझेदार


काठमाडौं । देशमा कसैले घुस खाला, थिति बिगार्ला भनेर बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख, जग्गा जमिनलाई लिएर झैझगडा नपरोस्, अरुको जग्गा आफनो नाममा कसैले नसारोस् भनेर बनाइएको भूमिसुधार मन्त्रालयका पूर्वसचिव भनौँ मूली प्रशासक । अनि, देशको अवस्था सुधार्न राजश्व उठाउने मुख्य संस्था राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक भइसकेका व्यक्ति हुन्, दीप बस्न्यात ।
उनको परिचय यतिमै टुंगिँदैन । बस्न्यातले भन्सार विभागको समेत महानिर्देशक हुने गौरवशाली अवसर आफ्नो भागमा पारेका थिए । कर, राजश्व, भन्सार, मालपोतजस्ता कार्यालयमा आफैंले गरेका, भएका हालीमुहालीपछि कारबाहीमा पर्ने सम्भावनालाई बन्द गर्न बस्न्यातले अख्तियार प्रमुखकै जिम्मेवारी सम्हाले । लोकमानसिंह कार्कीको आतंक सेलाएपछि अख्तियारको प्रमुख बनेका बस्न्यातले बालुवाटार जग्गा प्रकरणमा देखाएको नायकत्व (?) कै कारण साप्ताहिक तरुणले बस्न्यातलाई साताको चर्चितमा समेटेको छ । यस्तो छ, उनको राम कहाँनी:
कति छ उनको सम्पत्ति ? (विवरण)
काठमाडौं बत्तीसपुतलीस्थित घर सात रोपनी कम्पाउन्डमा, आलिसान बंगला, भित्री र बाहिरी सजावाट राजा–महाराजाहरूको दरबार जस्तो, बारमा करौडौं रुपैयाँ बराबरका विभिन्न ब्रान्डका रक्सीहरू, म्यानपावार व्यवसायी भीम रोक्काको नाममा लाजिम्पाटस्थित ग्याङजोङ होटल हाल हिमालय होटल तीन वर्षअघि दुई अर्ब १३ करोड रुपैयाँमा खरिद, रोयल क्यासिनोमा ३० प्रतिशत सेयर, नारायणहिटी दरबारको उत्तरढोकामा रहेको पहिलेको टुकुचे थकाली भएको घरजग्गा, काठमाडौं मण्डिखाटारमा नौ रोपनी कम्पाउन्डको विशाल घर, बुढानिलकण्ठको मूल सडकमै जोडिएको आफ्नो ३ दशमलव ५ रोपनी जग्गामा त्यति नै जग्गा थपेर होटल खोल्ने योजना, ललितपुरको भैंसेपाटीमा सात रोपनी जग्गा, नगरकोटमा ८५ रोपनी जग्गा, उदयपुरको गाईघाट बजारमै सुविधा सम्पन्न घरसहित तीन बिघा जग्गा, मेडिसिटी र चाबहिलको ओम अस्पतालमा ठूलो आर्थिक लगानी, आठ करोड रुपैयाँ मूल्य पर्ने मर्सिडिज बेन्चकार, ९० लाख रुपैयाँ मूल्य पर्ने बीएमडब्लु मोटरसाइकल लगायत चारवटा सुविधा सम्पन्न गाडीहरू र नक्साल ब्यांकेट आफ्नो छोरा कमल तथा ज्वाइँद्वय प्रज्वल अधिकारी र मनोज सुवेदीको नाममा समेत रहेको छ ।
हाल हिमालय होटल नामकरण गरिएको उक्त होटलका सञ्चालकहरू उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, गृहमन्त्री रामबहादुर थापा बादलका छोरा आशीष थापा र दीप बस्न्यातका छोरा कमल बस्न्यात सञ्चालक रहेको छ ।
नक्कली प्रमाणपत्र प्रकरण
दीप बस्न्यात धर्मराज उपाध्याय (डीआर) नामक विवादास्पद नागरिकमार्फत प्रमाणपत्र भारतबाट किनेर ल्याई नेपाल सरकारको सचिवदेखि प्रमुख आयुक्तसम्म भए । बस्न्यातलाई प्रमाणपत्र भारतबाट ल्याइदिने डीआर उपाध्याय हुन् । उपाध्यायले त्यही प्रमाणपत्र ल्याएकै कारण बस्न्यात राजस्वमा हुुदा व्यापारीका फर्मको सूचना दिने, छापा हान्न लगाउने र फेरि बिचौलिया बनेर दशौं करोड रुपैयाँ आर्जन गरेको स्रोत बताउँछ । बस्न्यातको नक्कली प्रमाणपत्रका बारेमा उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो । आयोगले छानबिन सुरु गरेपछि बस्नेतले चलखेल गर्न सुरु गरे । अनुसन्धानका संयोजक नै बस्न्यातले आफ्नो इसारामा नायव महान्यायाधिवक्ता चेतप्रसाद घिमिरेलाई राख्न सफल भए । बस्न्यातले घिमिरेलाई प्रभावमा पारी प्रमाणपत्र सक्कली भएको प्रतिवेदन दिन लगाए । घिमिरेले आफ्नो नक्कली प्रमाणपत्रलाई सक्कली बनाइदिएको गुण बस्न्यातले प्रमुख आयुक्त भएपछि उनलाई अख्तियारको विज्ञ बनाएर तिरे । नायव महान्यायाधिवक्ताबाट अवकाश भएका घिमिरेलाई बस्न्यातले गाडीदेखि सबै सुविधा दिएर अख्तियारको विज्ञमा नियुक्त गरेका थिए ।
को हुन् बस्न्यात ?
पूर्वी पहाडको खोटाङबाट उदयपुर बसाइँ सराइ गरेको गरिब परिवारका बस्न्यातले पञ्चायतकालमा तत्कालीनमन्त्री हरिबहादुर बस्न्यातको तोक आदेशमा सडक डिभिजन कार्यालय कोहलपुरमा जागिर पाए । पञ्चायतकालमा त दरबारसम्म नै पहुँच भएकाले भ्रष्टाचारद्वारा सम्पत्ति आर्जन गर्न सकिने कार्यालयहरू उनले फेला पारिनै रहे । २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि पनि भ्रष्टाचार गर्न सजिलो हुने कार्यालयबाट दायाँबायाँ सरुवा हुन उनलाई परेन । यस अवधिमा उनी विभिन्न जिल्लाका मालपोत कार्यालय प्रमुख बने । भन्सार अधिकृत हुँदै भन्सार विभागको महानिर्देशक बने । म्यानपावर व्यवसाय चरम उत्कर्षमा पुगेको, तर यो व्यवसायमा हुने चलखेलबारे मिडियाहरूले समेत थाहा नपाएको समयमा उनले करिब चार वर्ष श्रम विभागको महानिर्देशक बन्ने मौका पाए । त्यसपछि राजश्व अनुसन्धान विभागको महानिर्देशक बने । कर फस्र्योट आयोगको सदस्य बने । भूमिसुधार मन्त्रालय र सहरी विकास मन्त्रालयको सचिव बने । सचिव पदबाट अवकाश पाएको थोरै समयपछि नै राप्रपाको कोटामा अख्तियारको आयुक्त बने । लोकमानसिंह कार्की अयोग्य भएर फालिएपछी बस्न्यात प्रमुख आयुक्त बने ।
कसरी आर्जन गरे सम्पत्ति ?
जब अख्तियारको प्रमुख दिप बस्न्यात बने तब भन्सार तथा अर्थ मन्त्रालयमा लामो समय बसेकाहरूसँग ब्ल्याक मेलिङको सिलसिला सुरु गरे । सर्वप्रथम लुम्भध्वज महत र चुडामणि शर्मालाई बोलाएर २५–२५ करोड रुपैयाँ मागे । यो रकम नदिए अख्तियार लगाएर सर्वश्वहरण गरी जन्मकैद गरिदिने धम्की दिए । २०७१ सालमा कर फस्र्योट आयोगको अध्यक्ष महत थिए भने सदस्य शर्मा थिए । तर शर्माले ठाडै भनिदिए– ‘२०६३ सालमा तपाई सदस्य हुनुहुन्थ्यो, २०७१ सालमा म सदस्य भएँ । त्यतिबेला तपाईले अपनाएको कार्यविधि तथा मापदण्ड र मैले अपनाएको कार्यविधि तथा मापदण्ड हुबहु उस्तै थियो । फरक यति थियो कि, तपाईले शून्य दशमलव ९ प्रतिशत कर फस्र्योट गर्नुभयो, मैले ४३ प्रतिशत कर फस्र्योट गरेँ, अर्थात् तपाईले इतिहासमै सबैभन्दा कम कर फस्र्योट गर्नुभयो भने मैले इतिहासमै सबैभन्दा बढी कर फस्र्योट गरेँ ।’ यो चुनौती दिएपछि चुडामणि शर्मालाई बस्नेतले दिनसम्म दुःख दिए । नेपालको इतिहासमा चोरलाई चौतारो र साधुलाई सुली भन्ने उखान फेरि चरितार्थ भयो । यसैगरी, बस्नेतले प्रमुख आयुक्त हुनासाथ राजश्व सचिव शिशिर ढुंगाना, उपसचिव तीर्थ चिलवाल, सहसचिव शोभाकान्त पौडेल, पूर्वआईजीपी उपेन्द्रकान्त अर्याललाई बोलाएर १३ पन्ने भर्न लगाए । अनि स्वकीय सचिव लक्ष्मण बास्तोला र भाइ सुरेन्द्र बस्नेतलाई बिचौलियाको भूमिका खेल्न लगाई करोेडौं असुली गरेर फाइल तामेलीमा राखे ।
यस्तै, एक अर्ब रुपैयाँ घुस लिएर एनसेललाई पुँजीगत लाभकर मिनाहा गर्ने प्रक्रिया बस्नेतले नै अघि सारेको एनसेलका स्थानीय लगानीकर्ताहरू बताउँछन् । एक खर्ब ४४ अर्ब रुपैयाँको उक्त कारोबारमा कर नलिन बस्नेतले अख्तियारको प्रमुख आयुक्तको कुर्सीमा बसेर ठूला करदाता कार्यालयका कर अधिकृत, प्रमुख प्रशासक , आन्तरिक राजश्व विभागका महानिर्देशकलाई दबाब दिए । तर नमानेकै कारण उनीहरू माथि मुद्दा चलाएर दुःख दिए ।
जनकपुरका सुर्ती व्यापारी विश्वनाथ साहसँग बस्नेतको सुमधुर सम्बन्ध भएको आन्तरिक राजश्व कार्यालयमा हुँदा देखि नै हो, जब बस्नेत भूमिसुधार मन्त्रालयको सचिव बने, तब जानकी मन्दिर गुठीको ४८ रोपनी बिघा जग्गा विश्वनाथ साहकै सक्रीयतामा व्यक्तिका नाममा पुग्यो ।
यसैगरी, गोपाल खड्काले नेपाल आयल निगमका लागि जग्गा खरिद गर्दा दुई अर्ब रुपैयाँ भ्रष्टाचार गरेको कुरा समाचारमाध्यममा आयो । त्यसपछि बस्नेतले खड्कालाई बोलाएर भने, २५ करोड रुपैयाँ मलाई दे, म कुरा मिलाइ दिन्छु । खड्काले २५ त सक्दिन, १० करोडसम्म दिन सक्छु भने । कुरा मिल्यो । भोलिपल्टै खड्काले १० करोड रुपैयाँ दिए । तर मुद्दा नचलाउने निर्णय गर्न थप बार्गेनिङ चल्यो । बार्गेनिङकै क्रममा समय सकियो । अहिले गोपाल खड्काले उक्त रकम फिर्ता मागिरहेका छन् ।
दिप बस्न्यात अख्तियारमा नियुक्त भएपछि अख्तियारको डरत्रास देखाएर विभिन्न व्यवसायीका व्यक्तिहरूसँग उठाएको रकम उनका छोरा कमलले भीम रोक्कासँग साझेदारी गरेपछि विभिन्न ठाउँमा लगानी गरेको पाइएको छ । उनले अख्तियारकै आडमा भाइ नरेन्द्र बस्नेतलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष बनाएका थिए । दाजु खगेन्द्र बस्नेतलाई सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष बनाएका थिए ।
उनी अख्तियारको प्रमुख आयुक्त भएको बेला पुरातत्व विभागका कर्मचारीलाई धम्क्याएर बस्न्यातहरूको कुल देउताको मन्दिरका लागि ५० लाख रुपैयाँ दिलाए । नेपालमा यस्ता कुल देवताका मन्दिरहरूको संख्या कम्तीमा पनि एक लाख हुनुपर्छ । हरेक कुल देवताका मन्दिरलाई ५०–५० लाख दिने हो भने मुलुकको हालत के होला ?
सम्पत्ति वैध बनाउने प्रयास
काठमाडौंमा रहेकोे नक्साल ब्यांकेट आफ्नो छोरा कमल तथा ज्वाइँद्वयको नाममा चलाए । उक्त ब्यांकेट मुस्किलले महिनामा नौ दिन चल्छ, तर तीन सय ६५ दिन नै दैनिक दुई–तीन सिफ्ट चल्ने गरेको देखाउँदै त्यहीअनुसारको आम्दानी प्रस्तुत गरेर उनले कर पनि तिरेका छन् । यसबाट पनि उनले करिव तीन अर्ब जति अवैध सम्पत्तिलाई वैध बनाएको बुझिएको छ । उक्त ब्यांकेटको कागजात छानबिन गर्ने हो भने सबै कुरा छर्लंग हुने बताइन्छ । बस्न्यातले होटल तथा रिसोर्टलाई लक्षित गर्नुको मुख्य कारण अवैध आर्जन छोप्न आम्दानी देखाउन समाचार स्रोतको दाबी छ ।
भीम रोक्काका केही म्यानपावर मात्रै होइन, मोहन नाम गरेका एकजना म्यानपावर व्यवसायीसँग पनि बस्न्यातका छोरा तथा ज्वाइँहरूले साझेदारी गरेका छन् । कतिपय आम्दानी ती म्यानपावर कम्पनी मार्फत भएको देखाइएको छ । तर ती म्यानपावर कम्पनीमार्फत कुन कुन मितिमा कति नेपाली विदेशिए ? भनेर छानबिन गर्ने हो भने सबै कुरा छर्लंग हुने समाचार स्रोत बताउँछ । बस्न्यातका छोरा कमलको साझेदारीमा भीम रोक्काले चलाएको याख्खा ओभरसिजले एक वर्षमा दुई सयभन्दा बढी कामदार पठाएको देखिँदैन । मोर्गन ओभरसिज र गोरखा एसोसिएट्सले त सय पनि कटाउन सकेको देखिन्न ।
























