देश

के पि काे उपस्थितिसहित “नेकपा” काे स्थाई कमिटि बैठक आज बस्ने

नवलपुर टुडे
२०७७ मंसिर २८ | बिहान ०७:०८ बजे

मंसिर २८,काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को स्थायी कमिटी बैठक आज ‘आइतबार’ दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ । आजको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने भएका छन् ।

मंसिर २१ मा धुम्बाराहीमै बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली दुईपन्ने पत्र पठाएर अनुपस्थित भएका थिए । स्थायी कमिटीको बैठक मंसिर २१ गते केहीबेर बसेर २८ गते बस्ने गरी टुंगिएको थियो ।
त्यसो त २१ गतेको बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी हुने भनिएपनि तर, अन्तिम समयमा उनी सहभागी भएनन् र ईश्वर पोखरेलमार्फत पठाइएको पत्र बैठकमा वाचन भएको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बैठक बस्न सुरक्षा थ्रेट रहेको बताएका थिए । त्यही कारणले गर्दा मंसिर २१ गते कार्यालयमा सुरक्षाकर्मीहरुको बाक्लो परिचालन गरिएको थियो ।
यस्तै मंसिर २१ यता सहमति खोज्नका लागि शीर्ष तहमा अनौपचारिक छलफलसमेत गरिने नेताहरुले बताएका थिए । यो एक साताको अवधिमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच एक्लाएक्लै भेटवार्ता पनि भयो । तर, त्यो भेटवार्ताले कुनै सहमति जुटेन।
मंसिर २४ गते बालुवाटारमा भएको दुई अध्यक्षवीचको भेटवार्तामा प्रधानमन्त्री ओलीले माधव नेपालको विरोध गर्दै प्रचण्डलाई आफूसँग मिलेर अघि बढ्न आग्रह गरेका थिए ।

स्थायी कमिटी बैठकमा केपी ओली र प्रचण्डका दुईवटा प्रस्ताव र विभिन्न चिठीपत्रहरु प्रस्तुत भएका छन् । स्थायी कमिटी सदस्यहरुलाई ती पत्रहरु पढेर आउन भनिएकाले आजदेखि नेताहरुले बैठकमा बोल्ने क्रम सुरु हुने एक नेताले नवलपुर टुडेलाई बताए ।

कमेन्टहरु