देश

प्रचण्ड–नेपाल रणनीति : लचकता अपनाउँदै अघि बढ्दै

जगत ठाडा मगर
२०७७ मंसिर २४ | बिहान ११:०८ बजे

काठमाडौँ । सत्तारुढ दल नेकपामा शक्ति सङ्घर्ष उत्कर्षमा पुगिरहेका बेला मङ्सिर २१ गते सुरु भएको छैठौँ स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको छ । सदस्यहरूलाई दुई अध्यक्षका प्रतिवेदन लगायतका अन्य चिठी पत्र र सवालजबाफको मिहीन अध्ययन गर्न एक साताको समय छुट्याइएको छ । शीर्ष नेताहरूबीच औपचारिक अनौपचारिक संवाद र छलफल गर्न सहयोग पुग्ने उद्देश्यसहित डकुमेन्ट अध्ययनका नाममा स्थायी समिति एक साता लामो समय स्थगित गरिएको हो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको भौतिक अनुपस्थितिमै आइतबार बसेको बैठकमा पत्रमार्फत उनले आफू अनुपस्थित हुनुको कारण खुलाएका मात्रै छैनन् । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले पार्टीभित्र स्वस्थ र मर्यादित छलफलको सीमा भत्काएर नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा पुर्याएको भन्दै आरोपपत्र फिर्ता नभए आगामी मङ्सिर २८ गते बस्ने बैठकमा समेत नआउने सङ्केत गरिसकेका छन् ।

प्रचण्डको प्रस्ताव फिर्ता भए मात्रै बैठकमा आउने ओलीको भनाइप्रति प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहमत हुन सकेका छैनन् । प्रचण्डले जबाफमा आफ्नो प्रस्ताव फिर्ता नहुने अडान बैठकमै राखिसकेका छन् । बरु उनले एक साता बैठक स्थगित गरेर ओलीसँग संवाद अघि बढाउन अझै स्पेस छोडेका छन् ।

यसअघि मङ्सिर ३ गतेको सचिवालय बैठकमा समेत नेताहरूबीच पार्टी विवादका विषयमा घोचपेच भएपछि ओलीलाई जबाफ तयार गर्न १० दिनको समय दिइएको थियो । अहिले स्थायी समिति बैठक सुरु भएपछि पनि सहमतिको आशयसहित एक सातापछि मात्रै बैठक राखिएको स्थायी समिति सदस्य देवेन्द्र पौडेल बताउँछन् ।

‘यो समय लिनु भनेको लचकता पनि हो,’ प्रचण्ड निकट पौडेलले रातोपाटीलाई बताए । पौडेलले यस्तो बताए पनि स्थायी समिति बैठक स्थगित भएको तेस्रो दिनसम्म ओली प्रचण्डबीच संवाद या छलफल भने सुरु भइसकेको छैन ।

कमेन्टहरु