४० बर्ष देखि पार्टीका संगठनमा आवद्ध कार्कीले एमाले कपिलवस्तुको सचिवमा उम्मेद्वारी दिने


हरि आचार्य
कपिलवस्तु । विगत ४० वर्षदेखि नेकपा एमालेका विभिन्न संगठनमा आवद्ध रहि पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा सहभागी रहदै आउनु भएका विश्व कार्कीले एमाले कपिलवस्तुको सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
वि.स. २०३८ सालको माघमा जनता मा.वि.पिपरामा भएको स्ववियु निर्वाचनमा कक्षा ४ मा अध्ययन गर्दा देखि नै पार्टीको जनवर्गीय संगठन अनेरास्ववियुको प्यानलमा मतदान गरि संगठित कार्कीले एमाले कपिलवस्तुको सचिवमा आफ्नो आवश्यकता रहेको भन्दै उम्मेद्वारी घोषणा गरेका हुन् । यहि पुस २३ र २४ गते हुने पार्टीको जिल्ला अधिवेशनमा समग्र अग्रज नेता, युवा वर्ग र पार्टीका शुभचिन्तकहरुको माग बमोजिम सचिव पदमा उम्मेद्वारी दिने निर्णय गरेको कार्कीले बताए ।
विशेष गरी पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टीका हरेक गतिविधिलाई चुस्त दुरुस्त राख्न र राजनीतीमा युवाहरुको पहुँच पु-याई युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफ्नो उम्मेद्वारी रहेको उनको भनाइ छ । लामो समयदेखि राजनीती मार्फत निरन्तर रुपमा समाज सेवा गर्दै आएका कार्की युवावर्गहरुको रोजाई र लोकप्रिय नेताको रुपमा पनि चिनिन्छ ।
२०३८ सालमा अनेरास्ववियुमा संगठित कार्की २०४२ सालमा अनेरास्ववियुमा क्रियाशिल रहे । त्यस्तै २०४४ सालमा अनेरास्ववियु अर्घाखाँचीमा संगठित भई जिम्मेवारी सम्हालेका थिए । २०७५ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा संगठित उनी २०४६ सालको भदौ महिनामा गुल्मीमा गिरफ्तार भई ८ दिनमा रिहा भए ।
२०४६ सालको जनआन्दोलनमा फागुन ८ गते गिरफ्तार भइ १ दिन कष्टडिमा बसेर फागुन ९ गते जेल चलान भएका कार्की चैत्र १३ गते रिहा भएका थिए । रिहा पश्चात आन्दोलनमा फेरी सरिक हुंदै उनले सक्रिय राजनिति यात्रालाई अगाडि बढाएका थिए । २०४७ सालमा अनेरास्ववियु कपिलवस्तुको जिल्ला कमिटि सदस्य भएका उनी २०४९ सालको जेठमा अनेरास्ववियु जिल्ला कमिटि कपिलवस्तुको अध्यक्षमा निर्वाचित भएका थिए ।
उनी २०५२ सालमा राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटि सदस्य, २०५४ सालमा सचिव तथा २०५५ सालमा लुम्बिनी अञ्चल कमिटि सदस्य भई सक्रिय राजनितिमा होमिएका थिए । त्यस्तै २०५५ सालमै पिपुल्स भोलेन्टीयर्सको कपिलवस्तु जिल्ला प्रमुख भएका कार्की २०५७ सालमा आएर एमाले जिल्ला कमिटि कपिलवस्तुको निर्वाचनबाट जिल्ला कमिटि सदस्य बने ।
२०६४ सालमा युथफोर्स कपिलवस्तुका संस्थापक भई जिम्मेवारी पुरा गरेका कार्की २०६९ सालको आठौँ जिल्ला अधिवेशनबाट हालसम्म जिल्ला कमिटि सदस्य हुँदै सचिवालय सदस्य रहदै आएको छ । २०७२ सालमा भएको पार्टी एकता पछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समेत नगर अध्यक्ष बनेको थिए ।
राजनितिमा मात्र नभई बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष समेत रहेका कार्कीले जिल्लामा नमुना खानेपानी बनाउन सफल भएको छ । कार्कीले सचिवमा उम्मेद्वारी दिएसंँगै जिल्लाका युवावर्गहरु उत्साहित भएका छन् भने सचिव हुने प्रबल सम्भावना रहेको कार्यकताहरु बताउँछन् ।
लामो समयदेखि एमालेमा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माणमा अहम भूमिका निर्वाह गर्दै आएका कार्कीले जिल्ला अधिवेशन नजिकिदै गर्दा अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि अझै तत्पर अगाडि बढ्न सचिवमा उम्मेद्वारी दिने घोषणा गरेको बताए ।
कार्की पार्टी एकताको समय देखि नै पार्टीका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीका हार्ड लाईनरको रुपमा चिनिदै आएका छन् ।






















