खेलकुद

कारबाहीमा परेका चार असन्तुष्ट क्रिकेट खेलाडी प्रशिक्षणमा सहभागी हुन तयार

जगत ठाडा मगर
२०७८ पुस १८ | मध्यान्ह ०९:०९ बजे

काठमाडौं, पुस १८ । नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार असन्तुष्ट खेलाडी राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् ।

आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दशानायके र कप्तानबाट हटाइएका खेलाडी ज्ञानेन्द्र मल्लसहितको छलफलपछि खेलाडीहरु यथावस्थामा नै बन्द प्रशिक्षणमा फर्किन तयार भएका हुन् । तर उनीहरुले निर्णय भने दिइसकेका छैनन् । उनीहरुले सोमबारसम्म निर्णय दिने बताएका छन् ।

अध्यक्ष चन्दका अनुसार क्यानले खेलाडीहरु मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने क्यानको निर्णय फिर्ता हुने बताए । खेलमा कप्तान भने सन्दीप लामिछाने नै रहने उनको भनाइ छ । ‘अब भोलिदेखि खेलाडीहरु क्याम्पमा आउनेछन्’ उनले भने ।

उनका अनुसार क्यानले सन् २०२२ को ६ महिनाको सेन्ट्रल कन्ट्रयाक्ट गर्दा खेलाडीहरुसंँग सल्लाह गर्ने पनि बताए । क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाउनुका साथै उनीहरु दुईसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने निर्णय गरेको थियो ।

साथै कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको थियो । यो विषय लिएर खेलाडी र क्यानबीच विवाद निकै बढेको थियो ।

कमेन्टहरु