देश

कैदी फरार प्रकरण : भागेका कैदीसहित सातजनाविरुद्ध मुद्दा दायर, जेलर जिम्मा जमानीमा छुटे

जगत ठाडा मगर
२०७८ पुस १७ | मध्यान्ह ०१:०९ बजे

दाङ । दाङको घोराही कारागारका कैदी यमराज परियारलाई भगाएको भन्दै सातजनाविरुद्ध मुद्दा दायर गरिएको छ। भागेका कैदी परियारसहित तत्कालिन जेलर युवराज परियार, कारागारका सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्र सेन ठकुरी, प्रहरी हवल्दार गणेश कुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, भगाउन प्रयोग गरिएका दुई युवतीलगायतविरुद्ध मुद्दा दर्ता भएको हो।

उनीहरुविरुद्ध कैदी भागे/भगाएको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको कारागारका जेलर अमर वलीले जानकारी दिए। कैदी भगाउन सहयोग गरेको अभियोगमा पक्राउ परेका कारागारका तत्कालिन जेलर युवराज परियार भने छुटेका छन्। उनी जिम्मा जमानीमा छुटेको जेलर वलीले बताए। उनलाई आबश्यक परेको बेला उपस्थित हुने गरी अदालतको आदेशमा छोडिएको हो।

कैदी फरार रहेपछि तत्कालिन जेलर परियारलाई जिल्ला प्रशासन कार्यालयमा तानिएको थियो। उनी आईतबार देखि कार्यालयमा हाजिर हुने बताइएको छ। शुक्रबार नै उनलाई छोडिएको हो। अन्य ६ जना भने जेलमै छन्।

गत ८ पुसमा प्रहरीकै मोटरसाईकल लिएर कैदी यमराज परियार फरार भएका थिए। उनले कारागारभित्र हुँदा नै मोवाईल प्रयोग गर्ने, एटिएम चलाउनेलगायतका सुविधा पाउँदै आएको समेत अनुसन्धानबाट खुलेको छ। फरार रहेका उनको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।

प्रेमिका हत्या गरेको ठहर गर्दै जिल्ला अदालत दाङले २० बर्ष कैद सजाय सुनाएको थियो। सोहीअनुसार ७ वर्ष कैद भुक्तान भएपछि उनी फरार भएका छन्।

कमेन्टहरु