अनलाईन सञ्चार माध्यमले पनि लोक कल्याणकारी विज्ञापन पाउने : मन्त्री कार्की


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाईन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाईन सञ्चार माध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताएका हुन् ।
अनलाईन पत्रकार संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अनलाईन सञ्चार माध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई पनि आग्रह गरे । उनले अनलाईन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारले पनि पत्रकारहरुसँगै बसेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री कार्कीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा सधैं दृढतापूर्वक उभिने दोहोर्याए ।
मन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए । उनले मुलुकमा दीगो शान्ति, विकास, सुशासन र समृद्धि भएमात्रै सञ्चार क्षेत्रको भविष्य सुुरक्षित हुने स्पष्ट पारे ।






















