चितवनमा प्रयोगशाला सञ्चालनपछि विषादीको कम प्रयोग, फलफूल तथा तरकारी खानयोग्य


चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि फलफूल तथा तरकारीमा विषादीको प्रयोग कम हुँदै गएको छ । सबै यसबारे सचेत बन्दै गएकोले पनि विषादीको मात्रामा कमी आएको कृषि विज्ञहरुले बताएका छन् ।
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको नियमित परीक्षण गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनकी अधिकृत पूर्णिमा क्षेत्रीले सुरुको तुलनामा आजभोलि चितवनको फलफूल तथा तरकारी खान योग्य बन्दै गएको नारायणी अनलाइनलाई बताइन् ।
उनले भनिन्, ‘ हामीले महानगर फलफूल तथा तरकारी बजारमा गएर हरेक दिन पाँचवटा नमुना लिएर आउँछौं । यदि ४५ प्रतिशत भन्दा बढी देखिएमा पूरै तरकारी नियन्त्रण गरेर नष्ट नै गर्न लगाउँछौं । ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा भने सबै तरकारी क्वारेन्टाइनमा राखेर पछि फेरि परीक्षण गर्दछौं ।’ उनले भरतपुरको बजारमा आउने तरकारीमा ३५ प्रतिशत बढी विषादी नपाइएकोले खानयोग्य रहेको बताइन् । उनले भनिन्, ‘केही समय अगाडि काक्रोमा ३५ प्रतिशत बढी विषादी देखिएको थियो तर आजभोलि भने भेटिएको छैन ।’ प्रयागशाला स्थापनाले व्यापारी र किसान सबै सचेत बन्दै गएको विचार राखिन् ।
प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा झण्डै एक वर्ष अगाडिबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक फरक–फरक ठाउँबाट पाँचवटा नमूना लिएर परीक्षण गरिरहेको छ । एउटा परीक्षण गर्न आधा घण्टा हाराहारी लाग्ने गर्दछ। परीक्षण गर्दा खान अयोग्य देखिएमा बिक्री गर्न बन्देज लगाइएको छ ।
परीक्षण विधिलाई ‘आरबीपीआर’ (विषादी अवशेष द्रुत विश्लेषण) भनिन्छ । यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ।
प्रारम्भिक परीक्षणमा बोडी र भण्टामा बढी विषादी पाइएको भए पनि आजभोलि भेटिएको छैन । प्रदेश सरकारको उपकरण, कृषि प्रवद्र्धन बजार विकास प्रालिको स्थान, भरतपुर महानगरपालिकाको स्थानको व्यवस्थापन एवम् आवश्यक रसायनसँगै कृषि ज्ञान केन्द्र र महानगर मिलेर कर्मचारी व्यवस्थापन गरेका छन् । महानगर फलफूल तथा तरकारी बजारका प्रवन्ध निर्देशक थिरप्रसाद धितालले विषादी परीक्षण प्रयोगशालाले प्रभावकारी ढंगले काम गरिरहेको बताए । भरतपुरको बजारमा दैनिक १५० टन तरकारी र ५० टन हाराहारी फलफूल आउने गर्छ ।






















