कांग्रेस नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले गरिए चार महत्त्वपूर्ण निर्णय


काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (शनिबार) बसेको बैठकले संकल्प प्रस्ताव पारित गरेर धन्यवाद ज्ञापन तथा राष्ट्रियसभा निर्वाचन र दल दर्तासम्बन्धी निर्णय गरेको छ।
इतिहासले सुम्पेको दायित्वलाई आत्मसात् गरेर अझै सुदृढ एकताका साथ पार्टीको यात्रालाई अगाडि बढाउने संकल्प प्रस्ताव बैठकले पारित गरेको छ । बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न ठाउँबाट आएर नेपाली कांग्रेसलाई शुभेच्छा प्रकट गर्ने राजनीतिक दलका नेतादेखि लिएर पार्टीको विभिन्न तहमा रहेर काम गर्ने निर्वाचन समिति, सञ्चारमाध्यमलगायत सबैलाई धन्यवाद दिएको छ।
राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनका लागि नेपाली कांग्रेसको तर्फबाट खडा गरिने उम्मेदवारहरुका लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दलका तर्फबाट आधिकारिक रूपमा हस्ताक्षर गरेर दलको सबै विवरण बुझाउने र अध्यावधिक गर्ने जिम्मा दिने निर्णय गरिएको छ।






















