प्रहरीमा राजनीतिक हस्तक्षेप : मोतीलालदेखि विश्वराजसम्म


प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ‘नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (ओएण्डएम) २०७७ लाई स्वीकृत गर्ने निर्णय गरेको पत्र ३ मंसिरमा गृह मन्त्रालय पुगेपछि सार्वजनिक भयो ।
ओएण्डएम प्रतिवेदन मन्त्रिपरिषदमै अड्किएका कारण प्रहरी समायोजनसमेत अघि बढ्न नसकिरहेका बेला स्वीकृतिको खबर आउनु गृह र प्रहरी प्रधान कार्यालयका लागि खुशीको कुरा थियो ।
तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री त्यतिबेला चकित भए, जतिबेला प्रतिवेदनमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एउटा दरबन्दी पनि थपेको देखियो ।
बादलनिकट स्रोतका अनुसार प्रतिवेदनमाथि क्याबिनेटमा छलफल नै नगराई ओएण्डएमलाई नै संशोधन गरेर २७ कात्तिकको ‘ब्याक डेट’मा निर्णय भएको थियो ।
गृह मन्त्रालयले ५ वटा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप्ने प्रस्ताव ओएण्डएममार्फत गरेको थियो । तर, उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा त्यो प्रस्तावलाई लामो समयसम्म मन्त्रिपरिषदमै अल्झाइएको थियो । एआईजीको एउटा दरबन्दी थप्नकै लागि पोखरेलले आफ्नो नेतृत्वमा रहेको प्रशासनिक समितिमा लामो समय त्यो प्रस्तावलाई राखेका थिए ।
गृह स्रोत नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला उपप्रधानमन्त्री पोखरेलले एआईजीको एउटा दरबन्दी थपेर प्रतिवेदन स्वीकृत गर्न प्रधानमन्त्री केपी ओलीलाई दबाव दिएको बताउँछ । यसका पछाडि उपप्रधानमन्त्री पोखरेलको उद्देश्य आफ्ना नातेदार डीआईजी विश्वराज पोखरेललाई बढुवा गर्दै भावी प्रहरी महानिरीक्षक (आईजीपी) को स्थान सुरक्षित गराउनु रहेको अधिकांशको आशंका थियो ।
नभन्दै सोमबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरिसकेको छ । आईजीपी क्षेत्री उपप्रधानमन्त्री पोखरेलको दबावसामू मौन छन् ।
नेपाल प्रहरीमा अहिले रहेको ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे हालका आईजीपी क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । त्यसपछि आईजीपीका लागि पोखरेलको एकल दाबेदारी हुनेछ । वरिष्ठताका आधारमा पनि उनी महानिरीक्षकका एक्ला हकदार बन्नेछन् ।
अधिकृतहरुका अनुसार प्रहरी संगठनका लागि माथिल्लो तहमा दरबन्दी थपिनु सुखद् कुरा नै थियो । तर, जसरी एकजना व्यक्तिका लागि ‘चोर बाटो’बाट दरबन्दी थपियो, त्यसले संगठनलाई कमजोर बनाउने कार्य गरेको अधिकांशको बुझाइ छ ।























