आन्तरिक पर्यटकले धानिएन सौराहा, अन्तर्राष्ट्रिय उडान खुलाउन पर्यटन व्यावसायीको माग


चितवनको पर्यटकीय नगरी तथा देशकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य सौराहाका अधिकांश होटलहरु खुलिसकेका छन् । विगतका वर्षहरुमा यतिबेला सौराहमा बाह्य पर्यटकहरुको धेरै चहलपहल हुने गथ्र्याे । तर कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तराष्ट्रिय उडान बन्द रहेकाले अहिले बाह्य पर्यटकको आगमन ठप्प छ । सौराहमा अहिले आन्तरिक पर्यटकहरु मात्र आइरहेका छन्, त्यो पनि छिटफुट मात्र । तर आन्तरिक पर्यटकले मात्र सौराहाको खर्च धानिन नसकेको पाइएको छ ।
क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले आन्तरिक पर्यटकले अहिले सौराहाका पर्यटन व्यावसायी धानिन नसकेको बताए । उनले भने ‘कोरोनाका कारण पर्यटकहरु निकै कम मात्रामा निस्केका छन् । सौराहा सुरक्षित छैन भन्ने सोचेर होला आन्तरिक पर्यटकहरु पनि पहिले जस्तो आएका छैनन् ।’ उक्त सोचलाई चिर्न ‘घुमौ सौराह’ भन्ने अभियान चलाएर विभिन्न शहरमा जाने योजनामा रहेको उनले बताए ।
उनका अनुसार दशैंतिहारका बेला आन्तरिक पर्यटक बढेको भए पनि अहिले पुनः घट्दै गइरहेका छन् । सौराहाका व्यावसायीहरु अहिले होटललाई सरसफाई गरेर बँचाउने काम मात्र गरेका छन् ।
विगतमा बाह्य पर्यटकको आगमन कम हुँदा वा ठप्प हुँदा आन्तरिक पर्यटकहरुले नै सौराहालाई धानेको भए पनि अहिले त्यो अवस्था नरहेको उनले बताए । जनआन्दोल, जनयुद्धका बेला होस्, वा भूकम्पका बेला आन्तरिक पर्यटकले नै सौराहको खर्चलाई धानेको भए पनि अहिले धान्न नसकेको उनले बताए ।
भट्टराईका अनुसार सौराहामा सानाठूला, संघमा दर्ता भएका नभएका गरी १४० वटा होटलहरु रहेका छन् । ती होटलहरुमा ३५ अर्बभन्दा बढी लगानी छ । विदेशी पर्यटक नआउने बेलासम्म कसरी लगानी सुरक्षित राख्न सकिन्छ भनेर आफूहरुले नयाँ कार्यक्रमहरु ल्याउन खोजिरहेको उनले बताए । जसका लागि निकुञ्जदेखि स्थानीय निकायसम्मले साथ दिनेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ छ ।
उनका अुनसार अहिले होटलहरुले २५ देखि ३० प्रतिशतसम्म छुट दिइरहेका छन् । यस्तै रात्री सफारी चलाउने योजना बनाइएको छ । अन्य रुपान्तरित कार्यक्रम ल्याएर सौराहाको पर्यटन क्षेत्रलाई चलायमान बनाउने योजनमा आफूहरु लगेको उनले सुनाए ।
सरकारले पर्यटन व्यावसायीलाई दिने भनेको सहुलियतपूर्ण ऋण पनि ककसले पाउने भन्ने अन्यौल रहेको उनले बताए । ‘हाम्रो माग सबैले पाउनुपर्छ भन्ने हो । फाइल सबैले पठाएका छन्, उनले भने ‘पर्यटन वर्षका लागि भनेर बैंकबाट लोन लिएर सबैले लगानी गरेका छन् । त्यसैले सबैले सहुलियत पाउनुपर्छ । अधिकांश व्यावसायीले ऋणको व्याज पनि तिर्न सकेका छैनन् ।’
पर्यटन व्यावसायी रमेश सिलावलले सौराहामा पर्यटकहरुलाई कोरानाबाट सुरक्षित राख्न आफूहरुले सुरक्षाका सबै विधिहरु अपनाएकाले ढुक्कसँग घुमन आउन आग्रह गरे । एक पटक होटलमा मानिस बसिसकेपछि त्यसलाई स्यानिटाइजिङ गर्ने, होटलमा काम गर्ने सबैले अनिवार्य मास्क लगाउने गरिएको उनको भनाइ छ । अहिले होटलमा खासै मानिसहरु नआउने गरेको बताउँदै उनले आफूहरु अहिले घाटामा रहेको बताए । ‘शुक्रबार शनिबारका दिन केही चहलपहल छ । अरु बार भने खाली छ । अरु बार पनि पर्यटन आउने आशमा छौं हामी’ उनले भने ।
कृषि र पर्यटनलाई राज्यले एउटै नजरमा हेर्ने गरेको भए पनि दिने सहुलियतमा भने फरक रहेको उनले गुनासो गरे । ‘अहिलेको अवस्थामा पर्यटन क्षेत्रमा पनि कृषिमा जसरी सरकारले साथ दिए हामी उकासिने थियौं । पर्यटन प्रवद्र्धन हुने थियो’ उनले भने ।
अर्का पर्यटन व्यावसायी सूर्य लामाले सरकारले अन्तराष्ट्रिय उडान खोलिदिएमा सौराहाको पर्यटन क्षेत्र उकासिने बताए । आफूहरुसँग विदेशी पर्यटकहरु सम्पर्कमा रहेको बताउँदै उनले उडान खुल्ने बित्तिकै उनीहरु नेपाल आउन तत्तपर रहेको बताए । विगतका वर्षहरुमा जत्तिकै बाह्य पर्यटक नआए पनि खर्च धान्न सक्ने गरी पर्यटक आउने उनको आँकलन छ ।























