पार्टी निकट पत्रकारहरुलाई माधव नेपालले भने – जाडरक्सी खाएको थाहा पाए राम्रो मान्दिनँ


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाडरक्सी नखान निर्देशन दिएका छन् ।
अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताए । समाजवादी प्रेस संगठन नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जाडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पत्रकारहरुलाई आग्रह गरेका हुन् ।
अध्यक्ष नेपालले भने, ‘तपाईहरुमा साँझ पर्ने वित्तिकै पाँचतारे होटल धाईधाई रक्सी नखाईकन निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिन । तपाईको स्वास्थ्यलाई पनि काम गर्छ । म सझुाव दिन चाहन्छु–रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ । राम्रो चिज खानुस्, राम्रो स्वास्थ्य बनाउनुस, तगडा हुनुस्, दिमाग तिखो बनाउनु र राम्रो काम गर्नुस्।’
अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे । उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दावी गरे ।






















