देश

संयुक्त विद्यार्थी संगठनद्वारा नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना

जगत ठाडा मगर
२०७८ कार्तिक २६ | मध्यान्ह ०२:०७ बजे

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन् ।

मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिने उद्देश्यले शुक्रबार बिहान १० बजेबाट संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । धर्नामा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने र निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

धर्नामा सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत दल सम्बद्ध विद्यार्थी संगठनका नेताहरु सहभागी थिए । पेट्रोलियम पदार्थको पछिल्लो पटक फेरि मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ ।

सरकारले पछिल्लो पटक यही कात्तिक २४ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाइएको छ ।

कमेन्टहरु