सर्वोच्चको मूल गेटमा कानुन व्यवासायीहरुको धर्ना, राजीनामा नदिए राष्ट्रसंघसम्म जाने चेतावनी

जगत ठाडा मगर
२०७८ कार्तिक २६ | बिहान ११:०७ बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुले ‘कब्जा’ गरिएको छ ।
नेपाल बार एसोसिएसनको अगुवाइमा भएको आन्दोलनका क्रममा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश रोक लगाउन मूल गेटमै धर्ना दिइएको हो । ठूलो संख्यामा कानुन व्यवसायी धर्नामा बसेका छन् । यति गर्दा पनि प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए उनका ‘कर्तुतहरू’ संयुक्त राष्ट्रसंघसम्म पुर्याउने नेपाल बारका पदाधिकारीले चेतावनी समेत दिएका छन् ।
सर्वोच्च अदालत बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीशको नाम मुछिएको र त्यसले न्यायालयलाई असर गर्ने भन्दै बारले उनको राजीनामा माग गरेको हो । न्यायाधीशहरू पनि प्रधानन्यायाधीश जबराकै विरोधमा छन् ।






















