देश

प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना

जगत ठाडा मगर
२०७८ कार्तिक २६ | बिहान ०८:०७ बजे

काठमाडौं । नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने बताएको छ ।

बिहीबार शान्तिपूर्ण गरेको आन्दोलनमा बल प्रयोग गरेको भन्दै बारले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बताइन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै नाराबाजी गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीसँग धकेलाधकेल हुँदा ६ जना कानुन व्यवसायीहरु घाइते भएका छन् । कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

बिहीबारदेखि सर्वोच्च अदालत परिसरभित्रै नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबण्डा खोजेको खबर सार्वजनिक भएपछि नेपाल बारले आन्दोलन थालेको थियो । आन्दोलनको क्रमअन्तर्गत नै कानुन व्यवसायीहरुले कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका छन् ।

कमेन्टहरु