संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टको रुपमा विकास गरिने बताए


कात्तिक ३०, काठमाण्डाै।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टको रुपमा विकास गरिने बताएका छन् ।
आइतबार सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निर्माण भएको पर्यटन सूचना केन्द्र भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले लुक्ला एयरपोर्टमा शेर्पा समुदायको संस्कृति झल्कने गरी सजावट गरिने बताएका हु्न ।
उनले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई लागत तयार गर्न समेत निर्देशन दिएका छन् । मन्त्री भट्टराईले एयरपोर्ट सञ्चालन स्थानीय तहलाई दिन सकिने बताउदै त्यसको लागि आवश्यक नीतिगत प्रबन्ध मन्त्रालयले तयार गर्ने समेत उल्लेख गरे ।
आधारभूत सेवा नेपाल नागरिक उडड्यन प्राधिकरणबाट उपलब्ध गराई स्थानीय तहलाई नै विमानस्थलको सेवा संचालन गर्न दिन सकिने उल्लेख गरे ।
मन्त्री भट्टराईले लुक्ला हिमालय जाने मुख्यद्वार भएको उल्लेख गर्दै राष्ट्रिय निकुञ्ज,हिमाल, जैविक विविधताले महत्त्वपूर्ण क्षेत्र भएकोले सुचना केन्द्र आवश्यक रहेको बताए ।
उनले सगरमाथा क्षेत्र, शेर्पा संस्कृति जानकारी ऐतिहासिकता, टेकिङ रुट तथा पर्यटकिय क्षेत्रको सबै जानकारी पर्यटन सूचना केन्द्रमा प्राप्त हुने विश्वास ब्यक्त गरेका छन् ।
मन्त्री भट्टराईले आर्थिक समृद्धिको लागि उत्पादनमा जोड दिन आग्रह गर्दै किबी स्याउ,पशुपालन लाग्न सो क्षेत्रका बासिन्दालाई अनुरोध समेत गरेका छन् ।
पर्यटन विभागका महानिर्देशक रुद्रसिहं तामाङले भबनको उचित प्रयोग गरी पर्यटन सम्बन्धि सूचना दिने उपयोगी बनाउन आग्रह गर्दै नयाँ नयाँ ठाउँमा पनि पर्यटन सूचना केन्द्र बनाउन अध्यन थालिएको जानकारी दिए ।
खुम्बुगाउँ पालिकाका कार्यबाहक अध्यक्ष टाँसील्हामु शेर्पाले विमानस्थल थप ब्यवस्थित बनाउन माग गरे । सूचना केन्द्र ३ करोड ६३ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।























