सरकारले विदेशबाट फर्किएर मुलुक भित्र बेरोजगार भई बस्नु परेका युवाको तथ्यांक संकलन


३० कात्तिक, काठमाडौं । सरकारले विदेशबाट फर्किएर मुलुक भित्र बेरोजगार भई बस्नु परेका युवाको तथ्यांक संकलन भएको छ । २४ कात्तिकको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश पुगेपनि कोरोना भाइरसको संक्रमणका कारण स्वदेश फर्किएर बेरोजगार बस्न बाध्य भएका युवाको तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो ।
उक्त काम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक स्थानीय तहमा खटिएका रोजगार संयोजकमार्फत गर्नेछ ।
सोही प्रयोजनका लागि मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी तथ्यांक संकलन थाल्न निर्देशन समेत दिएको छ । मन्त्रालयका अनुसार यो काम रोजगारीको सम्भाब्यता अध्ययनका लागि हुन लागेको हो ।
सोहीकारण कोभिड १९ को कारणबाट भारतसहित अन्य मुलुकबाट रोजगारी गुमाएका वा अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार युवाको तथ्यांक संकलन गरिनेछ । उनीहरुमध्ये १८ देखि ५९ वर्ष समुहलाई मात्र सूचीमा राखिने छ ।
मन्त्रालयले १५ दिन भित्र यस्तो तथ्यांक पठाउन सबै स्थानीय तहलाई आग्रह समेत गरेको छ।
तथ्यांक संकलन गर्दा अब जिल्ला, गाउँपालिका, वडा, नामथर र व्यक्तिगत अन्य विवरण संकलन गरिने छ । विदेशमा रहँदा संलग्न भएको सीप र तालीम, कुन मुलुकबाट फर्केको, विदेशबाट फर्कनुको कारण र सम्पर्क नम्बरसहितको प्रतिवेदन संकलन गर्न लागिएको हो ।























