स्वास्थ्य

कपिलवस्तुमा फैलिएको झाडापखालाबाट हालसम्म चारजनाको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक १ | बिहान ०९:०७ बजे

कपिलवस्तु । कपिलवस्तुमा गत असोज १८ गतेदेखि फैलिएको झाडापखालाबाट हालसम्म चारजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।झाडापखाला र बान्ताका कारण तीन बालबालिका र एक ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालाको महामारीबाट हालसम्म आठ सय ८५ जना बिरामी परेका छन् । उनीहरूमध्ये २५ जना बिरामी अझै शिवराज अस्पतालमा नै उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । स्वास्थ्य मन्त्रालयका अनुसार सो क्षेत्रमा ढल व्यवस्थापनको कार्य भइरहेको र खानेपानीमा ढल मिसिएका कारण समस्या आएको हो ।

अहिले भने प्रकोप नियन्त्रणको चरणमा रहेको छ । केन्द्र, प्रदेश र स्थानीय तहबाट खटिएका स्वास्थ्यकर्मीहरूको टोलीको समन्वयमा प्रकोप नियन्त्रणउन्मुख भएको प्रवक्ता पौडेलले बताए । निरन्तर झाडापखाला लाग्दा शरीरको पानी सकिने र जलवियोजन हुने भएकाले जीवनजल पानी प्रशस्त मात्रामा सेवन गर्न सरकारले आग्रह गरेको छ ।

कमेन्टहरु