इनरुवामा दुई सबस्टेसन पुसभित्र सम्पन्न गरिने


सुनसरी । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) चार सय केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरिने भएको छ ।
दुवै सबस्टेसनको निर्माणको काम धमाधम भइरहेको छ । दुवै सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै, ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरू निर्माणस्थलमा ल्याइसकिएको छ । २२०/१३२/३३ केभी सबस्टेसनका उपकरणहरू जडान भइसकेको छ । चार सय केभी र २२०/१३२/३३ केभी सबस्टेसनको समग्र निर्माण प्रगति क्रमशः ६५ र ८५ प्रतिशत छ ।
यी सबस्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्नेछ । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिनेछ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अवलोकन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी, परामर्शदातासँग निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरे । ‘मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरूलाई थप विद्युत् दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनको निर्माण तत्काल सक्नुपर्ने बाध्यता छ, यस्तो मेरुदण्डका रूपमा रहेको सबस्टेसन निर्माणमा आइपर्ने समस्या तत्काल समाधान गर्न तयार छौँ,’ उनले भने ।
अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोसी करिडोर दुई सय २० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ । कोसी करिडोरको इनरुवा, वसन्तपुर, तुम्लिङटारखण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ । नेपाल सरकारको लगानीमा निर्माण भइरहेको चार सय केभी सबस्टेसन निर्माणका लागि ०७५ पुसमा ठेक्का सम्झौता भएको थियो ।






















