देश

बुटवल मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासदेखि बिबाद सुरु, अन्तमा गोली काण्ड र मृत्यु सम्म

जगत ठाडा मगर
२०७८ अशोज २५ | बिहान ०७:०६ बजे

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार बिहानैबाट सुरु भएको तनाव अन्ततः गोली चलेर ४ जनाको मृत्युसम्म पुग्यो ।

घटनामा ४० जना धेरै घाइतेहरू अहिले अस्पताल उपचारको रहेको छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड १७ र १८ पर्ने मोतीपुर क्षेत्रमा प्रशासनले अतिक्रमण जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा बिहानै तनाव सुरु भएको थियो । स्थानीयका अनुसार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो।

टहरा हटाउने क्रममा स्थानीय सुकुम्वासीले सुरुमा जनपथ प्रहरीको सानो टोलीमाथि आक्रमण गरेका थिए । त्यसपछि भएको झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल राना मगरलाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको आरोप छ। गत चैतमा नै औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए।

आफूहरूले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गा थाहै नदिई औद्योगिक क्षेत्रको नाममा लगेको भन्दै स्थानीय आक्रोशित थिए । तर पछिल्ला दिनमा भूमामियाहरुले बाहिरका मान्छेहरूले खोजेर घडेरी पाउने भन्दै राख्न थालेको प्रशासनको आरोप छ । त्यसको लागि गुल्मी, कपिलवस्तु, पाल्पा, स्याङ्जा, अर्घाखाँचीबाट बुटवलमा अवसरको खोजीमा आएका व्यक्तिहरूलाई प्रयोग गरेको प्रशासनको भनाई रहेको छ ।

प्रशासनले यस्तो चाल पाएपछि भदौ २० गतेदेखि नै उक्त क्षेत्रमा निषेध आज्ञा जारी गरेको रुपन्देहीका प्रमुख रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । उनले सकुम्बासीको नाम बसेकाहरूले आक्रमण गर्न थालेपछि यस्तो अवस्था आएको जिकिर गरे । आइतबार भएको सुकुम्वासी र प्रहरीको भिडन्तमा सर्वसाधारणको मृत्यु भएपनि प्रहरीलाई पनि गोली लागेको छ । सशस्त्र र जनपथ प्रहरी घाइते भएका छन् ।

घटनामा कपिलवस्तुको बाणगंगा नगरपालिकाका ४८ वर्षीय रमेश परियारको मृत्यु भएको छ । अन्यको पहिचान खुलिसकेको छैन । प्रहरीले नाम खुलाउन चाहेको छैन । घटनामा उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाने क्रममा गोली लागेका तीन जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा ज्यान गएको हो । मेडिकल कलेज, भैरहवामा ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको छ ।

लुम्बिनी प्रदेश अस्पतालमा अहिले गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । घटनामा घाइते अन्य ३१ जना उपचारका लागि अस्पताल पुगेका छन् । जसमा १५ जना सर्वसाधारण र १६ जना प्रहरी रहेको अस्पतालका मेसु डा इन्द्र ढकालले बताए ।

दिनभर तनाव भएपछि साँझदेखि प्रशासनको मोतिपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । अर्को सूचना जारी नहुँदा सम्म उक्त क्षेत्रमा प्रशासनले कर्फ्यु जारी गरेको थियो । दिउँसो तनावको बेला मोतिपुर झन्डै २ हजार सङ्ख्या रहेको सुकुम्वासीहरूले केही प्रहरीलाई घरमा समेत थुनेर राखेका थिए । आक्रमणकारीहरूले पेट्रोल बम समेत प्रहार गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले घाइते र मृतकको विवरण दिन आनाकानी गरिरहेको छ । घटनाका बारेमा पूरा विवरण सङ्कलन भई नसकेकाले मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने सुरक्षा निकाय स्रोतले जनाएको छ ।

कमेन्टहरु