झिझिया लोक संस्कृतिमा विकृति प्रवेश, चिन्तित पुरानो पुस्ता


बबिता मण्डल
सिराहा । तराईका जनकपुर आसपासका क्षेत्रमा वडा दसैंको अवसरमा नाचिने र गाईने मधेशको लोक संस्कृतिमा आधारित झिझियामा विकृति प्रवेश गर्न थालेको अवस्थाको सिर्जना भएको छ । हिन्दूहरूको महान चाड दसैंको घटस्थापनाको रातिदेखि सुरुवात भई दसैंको समापनसँगै यो विसर्जन हुने लोक संस्कृति हो ।
झिझियाको उदेश्य समाजमा अदृश्य रूपमा रहेका डायना, बोक्सिबाट आफ्ना सन्तानलाई सुरक्षा प्रदान गर्नु हो । घैंटामा मसिनो प्वाल पारेर त्यसभित्र मधुरो दियो कलश राखेर माथिबाट ढकनाले छोपेर महिलाले आफ्नो टाउकोमा राखेर परम्परागत गीत, चल चल गे डईनी कदम तर तोहर बेटाके खेबौ बरहम तर” यस्ता गीत गाउँदै ताली बजाएर महिलाहरुले सुरिलो भाका छोड्दै मार्मिक तालमा नाचिने यो लोक संस्कृति शास्त्रिय संगीतको एक पाटो मान्न सकिन्छ ।
झिझिया रातको समयमा गाउँमा प्रत्येक घरमा घुमेर खेलिन्छ । गाउँमा झिझिया खेल्दै गरेको अवस्थामा यदि बोक्सीले घैंटामा भएको प्वाल गणना गर्यो भने झिझिया बोक्ने महिलाको मृत्यु हुने जनविश्वासमा आधारित यो संस्कृति आजभोलि आधुनिक डिजेको गीतमा नाच्न थालेको पाइन्छ ।
लोक संस्कृति मुताबिक गाईने यो गीत अहिले भोजपुरी र आधुनिक गीतको प्रयोग गरेर नाचिन थालेपछि जानकारहरुमा चिन्ता बढ्न थालेको छ ।






















