धनुषामा दुई नाबालक छोराको हत्यापछि आमाले गरिन् आत्महत्या


जनकपुरधाम, २३ असोज । दशैको मुखमा आएर धनुषामा एक दुखःद घटना घटेको छ । एक महिलाले दुई नाबालक छोराको हत्या गरेर आफू पनि झुण्डेर आत्महत्या गरेकी छिन् ।
शुक्रबार साँझ धनुषाको नगराईन नगरपालिका वडा नम्वर ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमति गुडियादेवी साहले ५ वर्षीय छोरा अभिषेक साह र ३ वर्षीय छोरा आदित्य साहलाई घाँटी थिचेर हत्या गरिसकेपछि आफूले पनि पासो लगाएर आत्महत्या गरेकी हुन् । गुडियादेवीकी श्रीमान मजदूरको काम गर्दै आईरहेका छन् । उनले कामको सिलसिलामा जनकपुर आएको बेला गुडियाले यस्तो घटना गरेको जिल्ला प्रहरी कर्यालय धनुषाका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार साँझ घरमा वृद्ध सासु ससुरामात्रै थिए । ३ बजे अघि श्रीमानलाई गुडियाले फोन गरेको केहीबेरपछि गुडियाले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बस्नेतले बताए । प्रवक्ता बस्नेतका अनुसार प्रेम विवाह गरेका गुडियाको माइती पक्षले हालसम्म स्वीकार नगरेको अनुसन्धानको क्रममा भेटिएको छ ।
अनुसन्धानबाट श्रीमान श्रीमतीबीच कुनै प्रकारको विवाद नभएको पाइएको देखिएको छ । तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















