मुलुकको अर्थतन्त्र उकास्न सरकार, समुदाय र निजी क्षेत्र मिल्नुपर्छ : अर्थमन्त्री


अन्जना बिश्वकर्मा
गुल्मी । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र माथि उकास्न सरकार, समुदाय र निजी क्षेत्र मिल्नुपर्ने बताएका छन् ।
बिहीबार राजधानीस्थित स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएका हुन् । सरकार समन्वयकारी भूमिकामा रहने भन्दै सरकारले लगानी नगर्ने र व्यवस्थापनमा बढी केन्द्रित हुने उनको भनाइ थियो ।
‘संविधानमा आधारित रहेर सरकारले नीति निर्माण गर्ने हो,’ उनले भने, ‘समग्रमा समुदायलाई उत्पादनसँग जोड्नुपर्छ ।’ समुदायलाई नै जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्ने शर्माको भनाइ छ ।
‘सरकार, समुदाय र निजी क्षेत्र यी तीन वटा कुरालाई जोडेर जाने हो । यसमा समुदाय मुख्य हो । समुदायले नै सबैलाई नेतृत्व गरिरहेको हुन्छ,’ उनले भने, ‘ यसरी जान सकियो भने छोटो समयमा समृद्ध हासिल गर्न सकिन्छ ।’






















