कांग्रेस महाधिवेशन : मुगु सभापतिमा देउवा समूहका शाही निर्वाचित


मुगु । कांग्रेस महाधिवेशनअन्तर्गत मुगुको नवौँ जिल्ला अधिवेशनमा ऐनबहादुर शाही सभापतिमा निर्वाचित भएका छन्। उनले निवर्तमान पार्टी सभापति खडकबहादुर शाहीलाई ५६ मतान्तरले पराजित गरेका हुन्। नवनिर्वाचित सभापति शाहीले चार सय ६ मत प्राप्त गर्दा निवर्तमान सभापति खडकबहादुर शाहीले तीन सय ५० मत प्राप्त गरेका छन्।
कुल गणना भएका मत सात सय ७२ मतमध्ये १६ मत बदर भएका निर्वाचन समितिले जनाएको छ। निर्वाचित शाही देउवा समूहका हुन्। उपसभापतिमा कर्ण रावल र हरिजंग शाही, सचिवमा जन्मजय भण्डारी र लोकेन्द्र मल्ल, सहसचिवमा उर्गेन लामा र शैलेन्द्र शाही निर्वाचित भएका छन्। यीमध्ये उपसभापति रावल, सचिवहरू भण्डारी र मल्ल, सहसचिव शाही देउवा पक्षका हुन् भने अन्य निर्वाचित पौडेल पक्षका हुन्।
महाधिवेशन प्रतिनिधिका रूपमा १७ जना निर्वाचित भएका छन्। उनीहरू सबै देउवा पक्षका हुन्। पौडेल पक्षधर मानिने निवर्तमान सभापति शाहीले ८औँ जिल्ला अधिवेशनमा पदम रावललाई पराजित गरेका थिए।
७औँ जिल्ला अधिवेशनमा ऐनबहादुरसँग पराजित भएका खडकबहादुर नवौँ अधिवेशनमा पनि उनीसँगै पराजित भएका हुन्। जिल्लाका वडा, पालिका र प्रदेशसम्मको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो।






















