देश

प्रदेश १ सरकारले बनायो नयाँ भवन, साढे तीन वर्षमा पहिलो संरचना निर्माण

जगत ठाडा मगर
२०७८ अशोज २१ | मध्यान्ह १२:०६ बजे

बिराटनगर । स्थापना भएको साढे तीन वर्षपछि प्रदेश १ सरकारको पहिलो संरचना निर्माण भएर सञ्चालनमा आएको छ। प्रदेश सरकारको ३ करोड १० लाख रुयैयाँ लगानीमा पहिलो संरचनाका रुपमा प्रदेश सभाको नयाँ भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो।
विराटनगर महानगरपालिका–९ देवकोटा चोकमा रहेको प्रदेश सभा परिसरभित्रै निर्माण भएको उक्त भवनको मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरे।

आधुनिक फर्निचर र गुणस्तरिय साउण्ड सिस्टम जडान भएको नयाँ भवनमा शुक्रबारदेखि प्रदेश सभाको ९औ हिउँदे अधिवेशनको बैठक सुरु हुँदैछ। पहिले जिल्ला समन्वय समितिको पुरानो र साँधुरो सभा हलमा प्रदेश सभा बैठक सञ्चालन हुँदै आएको थियो। सभाहल साँधुरो भएको भन्दै सांसदहरुले पटकपटक नयाँ संरचना बनाउन प्रदेशसभा सचिवालय र सरकारलाई दबाब दिँदै आइरहेका थिए। तर, प्रदेशको राजधानी कहाँ हुने भन्ने अन्यौल कायमै हुँदा नयाँ सभा भवन निर्माण हुन सकेको थिएन। प्रदेश राजधानी विराटनगर घोषणा भएपछि प्रदेश सभाको नयाँ अस्थायी भवन बनाउन बजेट विनियोजन भएको थियो।

जग्गा प्राप्त हुन नसक्दा १७ माघ २०७४ मा स्थापना भएको प्रदेश १ मा साढे तीन वर्षपछि अस्थायी सभाहल बनाउन बाध्य भएको सभामुख प्रदिपकुमार भण्डारीले बताए। सभाहल साँघुरो भएकोले कोरोना महामारीबाट जोगिन दुई वटा अलगअलग हलमा प्रदेश सभाको एउटा वर्षे र एएटा हिउँदे अधिवेशन सञ्चालन गरिएको थियो। हालसम्म प्रदेश १ सरकारले मातहतका मन्त्रालय , निर्देशनालय र कार्यालयहरु सबै पुराना भवनलाई स्तरोन्नती गरेर सञ्चालन गर्दै आइरहेको छ।

कमेन्टहरु