राजविराज नगरका बाल शिक्षक तथा कर्मचारीद्वारा चौथो दिन धर्ना कार्यक्रम निरन्तरता


सप्तरी, २० असोज । राजबिराज नगरका बाल शिक्षक तथा विद्यालय कर्मचारीले राजबिराज नगरपालिका कार्यालय अगाडि अनिश्चितकालीन धर्ना कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको छ ।
आन्दोलनरत संघर्ष समिति तथा सम्पूर्ण पेशागत संस्थाहरूद्वारा तीन बुँदे माग राखी अनिश्चितकालीन धर्नाको कार्यक्रमलाई आज (बुधबार) चौथो दिनसमेत निरन्तरता दिएको हो ।
पहिलो चरणको आन्दोलनबाट माग सुनुवाई नभएपछि दोस्रो चरणको आन्दोलन घोषणा गरेका उनीहरुले राजबिराज नगरपालिका कार्याललको मूल गेटमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
‘आलोपालो गरेर धर्ना बसेका छौं,’ संघर्ष समितिका संयोजक सुमित्रा दासले भनिन्, ‘शिक्षहरुको आन्दोलनको कार्यक्रमले बालबालिकाको पठन–पाठनमा कुनै समस्या नहुने गरी आन्दोललाई निरन्तरता दिएको उनले बताईन् ।’ हामीले बालबालिकाको पठन–पाठनलाई अबरुद्ध गर्ने उद्देश्य नराखेको बताउँदै धर्नामा सहभागी संघर्ष समितिका सल्लाहकार गंगाप्रसाद यादवले स्थानीय सरकाले शिक्षकहरुको समस्या नबुझेको बताए ।
आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले शान्तिपूर्ण आन्दोलनबाट माग सम्बोधन नभए आफ्नो हक अधिकार सुनिश्चितताको लागि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनरत शिक्षक कर्मचारीहरुले सरकारले तोकेअनुसारको तलव उपलब्ध गराउन आग्रह गरे । सरकारले आर्थिक बर्ष २०७८÷०७९ को घोषणा गरेको बजेट अनुसार तलव बत्ता पाउनुपर्ने तथा विद्यालयमा कार्यरत शिक्षकको छुट प्राबिधिक ग्रेड उपलब्ध गराउनुपर्ने लगायतका माग राखी अनिश्चित कालिन धर्ना बसेको आन्दोलनरत शिक्षक तथा कर्मचारीले जनाएका छन् ।
यसैबीच आन्दोलनरत शिक्षकहरुको आन्दोलनप्रति विभिन्न पेशागत संघ संगठनहरुले ऐक्यवद्ता समेत जनाएको छ ।






















