भक्तपुरको चाँगुनारायण नगरपालिकाको नियमित बैठक स्थगित


२८ कार्तिक भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाको नियमित बैठक स्थगित भएको छ ।
नगरपालिकाको नियमित बैठकलाई नेपाली काँग्रेसका तर्फबाट विजयी भएका वडाध्यक्षहरुले बहिष्कार गरेपछि नियमित बैठक स्थगित भएको हो ।
‘बैठकमा नेपाली काँग्रेसका तर्फबाट विजयी वडाध्यक्षहरु आउनु भएन, त्यही कारण आजको बैठक हुन सकेन’, नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘ उनीहरुले आफूहरु आउने, नआउने विषयमा केही पनि खबर पनि गरेका थिएनन् ।’
वडाध्यक्षहरुले भने नगरप्रमुखको स्वेच्छाचारी प्रवृत्तिका कारण बैठक बहिष्कार गरेका जनाएका छन् । बैठक बहिष्कार गरेका वडाध्यक्षमध्ये वडा नं. २ का वडाध्यक्ष शिवहरि केसीले बैठकका लागि नगरपालिकाले तयारीका लागि समय नदिँदा बैठक बहिष्कार गरेको बताए ।
‘नगरपालिकाले जहिले पनि पक्षपातपूर्ण काम गरेको भएर हामीले बहिष्कार गरेका हौं । नगरप्रमुख स्वेच्छाचारी भयो, अनियमितता भो, मनपरी भो, वडाको काममा पनि हस्तक्षेप भयो त्यसको विरुद्धमा हामीले बहिष्कार गरेका हौं ।’ वडाध्यक्ष केसीले भने ।
उनले बैठकका लागि कम्तीमा तीन दिनअघि लिखित रुपमा एजेण्डासहित खबर गर्नुर्नेमा नगरपालिकाले खबर गर्ने नगरेको आरो समेत लगाए । उनले लामो समयदेखि बैठक पनि हुन नसकेको र बैठकविना नै काम गरिरहेको पनि बताए ।
‘मनोमानी हिसाबले काम गरिरहेका छन्, आज मिटिङ अनि हिजो तीन बजे खबर आयो, पहिलाको निर्णय चाहिँ तीनदिन अघि हामीलाई लिखित रुपमा एजेण्डासहित जानकारी दिने भन्ने थियो, अहिले एजेण्डा पनि नदिने, अनि मिटिङ भनेर बोलाउने गरेका छन्, त्यो भएन, सिष्टमबाट चल्नुपर्छ भनेर हामीले यस्तो गरेका हौं ।’
नगर प्रमुख मिश्रले बैठकका लागि नगर अस्पताल उद्घाटन, कोभिडविरुद्ध स्वयम्सेवी टोली गठनलगायतको विषय समेटिएको जानकारी दिए ।























