राजनीति

मन्त्री चयनका लागि मापदण्ड बनाउन जसपाको बैठक बस्दै

जगत ठाडा मगर
२०७८ अशोज २० | बिहान १०:०६ बजे

काठमाडौं । मन्त्रीको नाम चयन लगायतका विषयमा मापदण्ड बनाउन जसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ ।

सत्तारुढ गठबन्धनमा मन्त्रालयको टुगों लागेपछि मन्त्रीमा ककसलाई पठाउने भन्ने विषयमा छलफल गर्न बुधबार जसपा नेपाल कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । उनका अनुसार मन्त्रीमण्डलमा कसलाई कसरी पठाउने त्यसको मापदण्ड बनाउन कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

खतिवडाले भने, ‘कार्यकारिणी समितिको बैठकबाट नाम नै टुंगो त लाग्दैन तर कस्तो व्यक्तिलाई पठाउने, नयाँ अनुहार पठाउने कि पुरानैबाट पठाउने लगायतका विषयमा मापदण्ड तयार गरी नेताहरुले नाम टुंगो लगाउनु हुनेछ ।’ मंगलबार बसेको जसपा संसदीय दलको बैठकले मन्त्रीबारे निर्णय लिने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

अध्यक्ष यादवले मन्त्रीको नाम टुंगो लगाउनुभन्दा पहिले कार्यकारिणी समितिको बैठकबाट पनि त्यसको म्याण्डेट लिन लागेका हुन् । जसपाले भौतिक पूर्वाधार तथा यतायात, वन तथा वतावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास गरि जम्मा ४ मन्त्रालय पाएका छन् । जसपा नेपालमा मन्त्रीका आकांक्षी धेरै छन् ।

जसपा नेपालले सुरुमा आठ वटा मन्त्रालय माग गरेका थिए । ८ मागे पनि ६ मन्त्रालय पाउने जसपाको आशा थियो । तर चारवटा मन्त्रालय मात्र पाएपछि मन्त्री व्यवस्थापनमा समस्या भएको नेताहरु बताउँछन् । स्रोतका अनुसार शीर्ष तहका नेताहरुलाई सरकारमा नपठाउन र नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी भइरहेको छ ।

कमेन्टहरु