देश

यो बर्ष पाएनन् सांसदहरूले दशैं भत्ता

जगत ठाडा मगर
२०७८ अशोज १९ | मध्यान्ह ०७:०६ बजे

काठमाडौं । यो बर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दशैं भत्ता पाएका छैनन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा असोज महिनाको मात्र तलब/भत्ता गएको छ तर, दशैं भत्ता पठाइएको छैन ।

गत साल दशैं भत्ता दिँदा विवाद भएको र यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने नदिने कुनै निर्णय नगरेकाले दशैंभत्ता नदिएको संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलले जानकारी दिए । बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक रु ६६ हजार ७० पाउँछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन भने राष्ट्रिय सभामा ५९ जना छन् ।

संसद सचिवालयका अनुसार यो महिनाको तलबबापत सांसदको खातामा मंगलबार २ करोड ९८ लाख ४६ हजार रुपैयाँ निकासा भएको छ भने सांसदका पीएका लागि १ करोड ४३ लाख ७४ हजार रुपैयाँ निकासा भएको छ ।

कमेन्टहरु