मन्त्रालयको भागवण्डा : कांग्रेसलाई ८, माओवादीलाई ५, एकीकृत समाजवादी र जसपालाई ४-४ वटा


काठमाडौं । सरकारमा मन्त्रालयको भागवण्डा लगभग टुंगिएको छ । मंगलबार विहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगिएको नेताहरुले बताएका छन् ।
सबैको सहमतिमा सरकरको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ८ वटा मन्त्रालय सम्हाल्ने भएको छ । हाल कांग्रेसले गृह, परराष्ट्र र कानून लिइसकेको छ अब उसले सञ्चारसहितका मन्त्रालय लिनेछ । माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेको छ । उसले अहिले अर्थ र उर्जा मन्त्रालय लिइसकेको छ । अब उसले शिक्षासहितका मन्त्रालय पाउनेछ ।
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान चार/चार मन्त्रालय पाउने निर्णय भएको छ । जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन र कृषि मन्त्रालय पाएको छ ।
जसपाले उपसभामुख पाउने सहमति, अरुलाई राज्यमन्त्री
एक नेताका अनुसार सत्तारुढ दलहरुबीच राज्यमन्त्री र उपसभामुख पदको पनि भागवण्डा भएको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एकएक राज्यमन्त्री लिएको छ भने जसपाले उपसभामुख पाउने लगभग सहमति भएको छ ।
प्रधानन्यायाधीशलाई छुट्याइएन भागवण्डा
सत्तारुढ दलका नेताहरुका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पनि मन्त्रालयमा भाग खोजेका थिए । जबराले वन र उद्योग मन्त्रालयको दाबी गरेका थिए । मन्त्रालय भागवण्डा मिलाउन नसक्ने अवस्था आएपछि सञ्चार तथा प्रविधि मन्त्रालय दिए एउटा मात्र लिने बताएका थिए ।
तर प्रधानमन्त्री देउवाले सञ्चार नदिने अठोट गरेका छन् । त्यसैले मंगलबार भएको भागवण्डामा जबरालाई छुट्याइएको छैन । सत्तारुढ दलका एक नेता भन्छन्, ‘कांग्रेसले ८ वटा मन्त्रालय राखेको छ, अब त्यहीँबाट मिलाउनुहुन्छ होला ।’






















