राजनीति

एमाले सांसदका अवरोधका बीच प्रतिनिधि सभामा वार्षिक प्रतिवेदन पेश

जगत ठाडा मगर
२०७८ अशोज १९ | मध्यान्ह ०१:०६ बजे

काठमाडौं । प्रतिनिधि सभाको बैठकको सुरुवातमै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् । मंगलबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको जानकारी गराउनासाथ एमालेका सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका हुन् ।

सभामुख सापकोटाले पटक-पटक सभाको बैठक सुचारु गर्न साथ दिन आग्रह गरेपनि एमाले सांसदहरुले अवरोध गर्न छोडेनन् । सभामुखले संविधानको धारा १ सय ५ मा भएको व्यवस्था अनुसार अदालतमा विचाराधीन मुद्दाबारे संसदमा छलफल हुन नसक्ने बताए । यस्तै उनले प्रतिनिधि सभा नियमावलीको नियम २१ को ख ग र घ मा भएको व्यवस्थाको पनि स्मरण गराउँदै सदन अघि बढाउन आग्रह गरे ।

एमालेले कारबाही गरेका १४ संसदमाथिको कारबाहीको सूचना टाँस नगरेको र सदनमा जानकारी नगराई सभामुखले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका बीच सभामुख सापकोटाले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ को प्रस्तुत गर्न समय दिए ।

कार्कीले सो प्रतिवेदन पेश गरेसँगै ८ मिनेट बसेर सकिएको प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागी स्थगित गरिएको छ ।

कमेन्टहरु