देश

मुस्कानलाई एसिड प्रहार गर्ने मुख्य अभियुक्त २ दिनमै रिहा

जगत ठाडा मगर
२०७८ अशोज १९ | बिहान ११:०६ बजे

वीरगन्ज । मुस्कान खातुनलाई एसिड प्रहार गर्ने मध्येका मुख्य अभियुक्त सम्साद मियाँ पक्राउ परेको २ दिन मै रिहा भएका छन्।

पर्सा जिल्ला अदालतको २०७७ फागुन २६ गतेको फैसलाअनुसार १ वर्षको कैद सजाय तोकिएका सम्साद बाँकी ५ महिना १६ दिनको कैद भुक्तान नै नगरी असोज १५ गते रिहा भएका हुन्।

बालसुधार गृहमा ६ महिना १४ दिन मात्र बसेका सम्सादलाई अदालतको आदेशमा प्रहरीले असोज १५ मा रिहा गर्‍यो। अदालतको फैसलापछि फरार रहेका सम्सादलाई प्रहरीले बाँकी ५ महिना १६ दिनको कैद भुक्तानका लागि यही असोज १३ गते उनकै घरबाट पक्राउ गरेको थियो।

भोलिपल्ट असोज १४ गते प्रहरीले उनलाई अदालतमा पेस गरेको थियो। तर, अदालतले प्रतिवादी सम्सादले अदालतको फैसला उपर चित्त नबुझी पुनरावेदन गर्न पाउने म्याद (७०दिन) बाँकी रहेको भन्दै छोड्न आदेश दिएपछि प्रहरीले उनलाई असोज १५ गते साँझ रिहा गरेको हो। पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले असोज १३ मा पक्राउ परेका सम्साद अदालतकै आदेशमा असोज १५ गते रिहा भएको बताए।

पाण्डेले भने, ‘१३ गते पक्राउ गरी १४ गते अदालतमा प्रहरीले पेस गर्‍यो तर अदालतले प्रतिवादीले पुनरावेदन गर्न पाउने म्याद बाँकी रहेको हुँदा प्रहरी थुनामा राख्न नपर्ने भनि आदेश दिएपछि असोज १३ मा पक्राउ परेका सम्साद अदालतकै आदेशमा असोज १५ गते रिहा भएको बताए। पाण्डेले भने, ‘१३ गते पक्राउ गरी १४ गते अदालतमा प्रहरीले पेस गर्‍यो तर अदालतले प्रतिवादीले पुनरावेदन गर्न पाउने म्याद बाँकी रहेको हुँदा प्रहरी थुनामा राख्न नपर्ने भनि आदेश दिएपछि असोज १५ गते छाडिदियौं ।

२०७६ भदौ २० गते मुस्कानमाथि मजिद मियाँसँग मिलेर सम्सादले नै मुस्कानमाथि एसिड प्रहार गरेका थिए। तर, घटना भएको १८ महिनापछि मात्र अदालतले फैसला गरेको थियो। जसअनुसार, वरदातका बेला सम्सादको उमेर १२ वर्ष मात्र रहेकाले उनलाई १ वर्ष र मजिदको उमेर १४ वर्ष मात्र पुगेकाले उनलाई ४ वर्ष कैद सजाय तोकिएको थियो।

घटना भए लगत्तै पक्राउ परेका दुवै नाबालक देखिएकाले अदालतले दुवैलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाएको थियो। तर, कोभिड–१९ को पहिलो लहर सुरु भएका बेला विशेष परिस्थिति देखाएर अदालतको आदेशमा २०७७ वैशाख १४ गते फेरि उपस्थित हुने गरी सम्साद २०७६ चैत १५ मा बालसुधार गृहबाट रिहा भएका थिए। तर, अदालतले तोकेको समय २०७७ वैशाख १४ मा उनी उपस्थित नभई घरमै बसे।

त्यसपछि २०७७ फागुन २६ को अदालतले तोकेको कैद सजायको फैसला कार्यान्वयनका सिलसिलामा प्रहरीले सम्सादलाई यही असोज १३ गते सम्सादलाई पक्राउ गरेको थियो। तर, पछिल्लो पटक पक्राउ परी थुनामा बसेको २ दिनमै अदालतले सम्सादलाई प्रहरी थुनामा राख्न नपर्ने भन्दै प्रहरीलाई आदेश दिएपछि उनी रिहा भएका हुन्।

‘अदालतले न्याय होइन थप पीडा दियो’
अदालतको पछिल्लो आदेशले मुख्य अभियुक्त रिहा भएपछि पीडित मुस्कानलाइ थप पीडा भएको छ। ‘अदालतले मलाई न्याय होइन थप पीडा दिएको छ,’ मुस्कान भन्छिन्, ‘अदालतले जघन्य अपराध गर्ने अभियुक्तलाई १ वर्ष मात्रै कैद सजाय तोकेको थियो त्यसमाथि त्यो १ वर्षको कैद सजाय पनि भुक्तान नगरी छुटेछ। यसले अपराधीको मनबोल झन् बढाएको छ।’ अदालतको पछिल्लो कदमविरुद्ध आफूले उच्च अदालतमा पुनरावेदन गर्ने मुस्कान बताउँछिन्।

पर्सा जिल्ला अदालतका स्रेस्तेदार अरुण कोइराला अदालतको फैसला उपर प्रतिवादीले पुनरावेदन गर्न, फैसला भएको मितिदेखि ७० दिनसम्मको समय पाउने भएकाले अदालतले थुनामा नराख्न प्रहरीलाई आदेश दिएको बताउँछन्। उनी भन्छन्, ‘सम्साद कानुनअनुसार नै रिहा भएका हुन्।’

तर अदालतले मुस्कान प्रकरणमा गरेको फैसलाबारे पुनरावेदनका लागि प्रतिवादीलाई फैसलाबारे जानकारीसहित काटेको पत्रमै प्रतिवादीको पक्षमा समय गुजार्न चलखेल भएको देखिन्छ।

कमेन्टहरु