खेलकुद

साफ च्याम्पियनसिप फुटबल : श्रीलङ्कालाई पराजित गर्दै शिर्ष स्थानमा नेपाल

जगत ठाडा मगर
२०७८ अशोज १९ | बिहान ०८:०६ बजे

काठमाडौं । माल्दिभ्समा भइरहेको दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै शिर्ष स्थान हासिल गरेको छ । सोमबार राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो ।

श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गरे। नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

खेलको पहिलो हाफको ३३औँ मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाए । यस्तै खेलको ५१औँ मिनेटमा नेपालका तर्फबाट अन्जन विष्टले गोल गरे । खेलको ५७औँ मिनेटमा मार्भिन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गोल गर्दै गोल अन्तर कम पारेका थिए । यसैगरी आयुस घलानले खेलको ८६औँ मिनेटमा गोल गरी नेपाललाई ३–१ को अग्रता दिलाए ।

खेलको अन्तिम समयमा श्रीलङ्काका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–२ को स्थितिमा पुर्याए पनि आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन् । लगातारको जितसँगै नेपाल साफ च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेको छ । नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ ।

अब नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्नेछ । अबको खेलमा भारतविरुद्ध पूरा ९० मिनेट कडा फाइट गर्ने नेपालको कप्तान किरणकुमार लिम्बुले बताए ।

कमेन्टहरु