रमान्नद चौक बमकाण्ड : जिल्लाको फैसला उच्च अदालतले उल्टायो सञ्जय साहलाई राहत


जनकपुरधाम, १८ असोज । जनकपुरम बम काण्डका मुख्य योजना कार सञ्जय साह ‘टकला’लाई रामानन्द चोक बमकाण्ड मुद्दामा उच्च अदालतबाट राहत मिलेको छ । उच्च अदालतले आइतवार गरेको फैसलामा साहलाई ज्यानमार्ने मुद्दामा ७ वर्ष कैद र षड्यन्त्र रचेको ठहर गरिएको छ ।
षड्यन्त्र रचेको अभियोगमा कम्तिमा १० वर्षदेखि अधिकतम् १५ वर्ष सजायको प्रावधान छ । कानुन व्यवसायीहरुका अनुसार साहलाई न्युन्तम् भएपनि १० वर्षको सजाय हुनेछ । गत हप्तादेखि उच्च अदालतमा सो
मुद्दाको बहस चलिरहेको थियो । दुबै पक्षका कानुन व्यवसायीहरुको बहस शुक्रवार सकिएको थियो ।
सो मुद्दामा जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालतबाट साहले राहत पाएपनि सो मुद्दाका अन्य दोषीहरुको हकमा जिल्ला अदालतकै फैसला सदर भएको छ । अन्य दोषीहरुको हकमा जिल्ला अदालतले गरेको फैसलालाई नै उच्च अदालतले सदर गरेको कानुन व्यवसायीहरुले बताए ।
२०६९ सालको बैशाख १८ गते मिथिला राज्यको मागगर्दै जनकपुरस्थित रामानन्द चोकमा धर्ना बसेका प्रदर्शनकारीहरुको बीचमा बम विष्फोट गराउदा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।
साहले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभाको दुबै निर्वाचनमा विजयी भएका थिए । पहिलो पटकको चुनावमा उनले मधेशी जनअधिकार फोरमबाट र दोस्रो चुनाव उनले सदभावना पार्टीबाट जितेका थिए । पहिलो पटक उनी विजय गच्छदार मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्री बनेका थिए ।
राजनीतिमा खुट्टा जमाईसकेका साह दोस्रो पटक संविधान सभा सदस्य रहेकै बेला पक्राउ परेका थिए । धनुषाका तत्कालिन प्रहरी प्रमुख एसपी उत्तम सुवेदीले भारतको दिल्लीबाट उनलाई पक्राउ गरि नेपाल ल्याएका थिए ।






















