देश

कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै मकुना हात्ती मृत भेटियो

जगत ठाडा मगर
२०७८ अशोज १७ | मध्यान्ह ०३:०६ बजे

सुनसरी, १७ असोज । सुनसरीस्थित रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा बस्दै आएको मकुना नामको हात्ती मृत अवस्थामा भेटिएको छ । एक वर्षअघि स्थानीय प्रशासनले मार्ने तयारी गरेको मकुना आइतबार विहान कोशी गाउँपालिका वडा नम्वर ३ स्थित आरक्ष कार्यालय नजिकै मृत भेटिएको आरक्ष प्रशासनले जनाएको छ ।

गत पुसमा चितवन राष्ट्रिय निकुञ्जबाट आएका वन्यजन्तु चिकित्सक र प्रविधिक टोलीले मकुनालाई शान्त बनाउन डार्ट गरी उपचार गरेको थियो ।
आइतबार बिहान ५ बजेतिर मकुना मृत भेटिएको आरक्ष प्रमुख अशोक रामले बताए । उनका अनुसार हात्तीको मृत्यु करेन्ट लागेर भएको हो । धान खान गएका बेला धानबालीमा लगाइएको करेन्ट लागेको उनले बताए ।

उनका अनुसार शनिबार राति १ बजेसम्म आरक्षका कर्मचारीले मकुनाको निगरानी गरेका थिए । पानी परेका कारण हात्ती त्यसपछि हराएको थियो । ‘राति करिब १ बजेसम्म हात्ती निगरानीमा थियो,’ उनले भने, ‘आरक्ष बाहिर सुतेको जानकारी आएपछि बिहान ५ बजे जंगलतर्फ धपाउन जाँदा मृत भेटियो ।’
स्थानीय कमलादेवी सरदारको खेतमा हात्ती मृत भेटिएको हो । धानखेतमा करेन्ट बिच्छयाइएको छ । करिब ३२–३३ वर्षीय मकुना हिंस्रक मानिन्छ । मकुनाको आक्रमणबाट आरक्ष आसपास १६ जनाले ज्यान गुमाई सकेको स्थानीयको भनाइ छ ।

‘हात्ती मृत भेटिएको स्थानमा करेन्ट बिच्छयाएको जानकारी पहिले थिएन,’ प्रमुख रामले भने, ‘पाक्नेबेलाको धानबाली सुरक्षाका लागि करेन्ट लगाइएको रहेछ ।’ हात्तीको पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए ।

कमेन्टहरु