राजनीति

माओवादीले मन्त्रीको छनोटबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दै

जगत ठाडा मगर
२०७८ अशोज १७ | बिहान ०९:०६ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छनोटका लागि आज छलफल बैठक बस्दै छ । मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्ने तयारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले भने बैठक बस्ने कुरा भए पनि समय तय नभएको बताए । ‘काम नसकिएकाले आज बैठक बस्ने कुरा त हो, तर समय तय भइसकेको छैन,’ ढकालले भने । पार्टी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर बैठकको समय निश्चित गर्ने उनले बताए । शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै प्रवक्ता कृष्णबहादुर महराले आइतबारको बैठकमा मन्त्रीहरुबारे छलफल गर्ने बताएका थिए ।

गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा गठबन्धन भित्रैबाट देउवाको आलोचना भइरहेको छ । सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो । तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।

सरकारमा हाल माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल रहेका छन् । यसैगरी कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् । गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने अझैसम्म नामलिस्ट पठाएका छैनन् ।

यसैगरी सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

कमेन्टहरु