नेपाल प्रहरीद्वारा अपहरणमा परेका भारतीय नागरिकको उद्धार


काठमाडौ । नेपाल प्रहरीले अपहरणमा परेका एक भारतीय नागरिकको उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शंकरकुमार साहको उद्धार गरिएको हो ।
सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको हो । साह नेपाल–भारत सीमाअन्तर्गत रामनगर कोदरकट्टीमा झाडीमा खुट्टामा साङ्लोले बाँधी लडाइराखिएको अवस्थामा फेला परेका हुन् ।
उनलाई अज्ञात समूहले अपहरण गरी नेपालको दशगजा ल्याएको भारतीय सुरक्षाकर्मीले सूचना दिएपछि सशस्त्र प्रहरी निरीक्षक लालबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले उनको उद्धार गरेको हो । उक्त स्थानमा एक थान मोबाइल सेट पनि भेटिएको श्रेष्ठले बताए । अपहरणमा परेका साहलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।






















