देश

सीता भण्डारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै बुटवलमा जारी प्रदर्शन

जगत ठाडा मगर
२०७८ अशोज १६ | बिहान ०८:०६ बजे

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारीले आत्महत्या गरेको प्रहरीले दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार २७ दिन लामो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै उनले आत्महत्या गरेको दाबी गरेको हो ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको संयुक्त अनुसन्धानबाट भण्डारीले आत्महत्या गरेको पाइएको बताए । पत्रकार सम्मेलनमा एसपी केसीले भने ‘सिआइबी र हाम्रो अनुसन्धान, विशेषज्ञ टोलीको पोस्टमार्टम रिपोर्ट, मृतकको मोबाइलमा भेटिएको सुसाइट नोट, घटनासँग जोडिएका ३३ जनासँग गरिएको सोधपुछ तथा सिसिटिभी फुटेज सबैको अनुसन्धानबाट भण्डारीको मृत्यु आत्महत्याबाट भएको पाइएको छ ।’

एसपीले घटना आत्महत्या भए पनि आत्महत्या गर्न बाध्य पारिएकाले घटनामा संलग्न तीनजनालाई आत्महत्या दुरुत्साहन मुद्दामा कारबाहीका लागि आइतबार अदालत पठाउने तयारी गरिएको जानकारी दिए । ‘२७ दिन लामो र विभिन्न कोणबाट गरिएको अनुसन्धानले भण्डारीको मृत्यु आत्महत्याबाट भएको खुले पनि आत्महत्या गर्न बाध्य पारिएको अवस्था देखिएको छ,’ उनले भने, ‘त्यसैले हामीले आत्महत्या दुरुत्साहन मुद्दा अगाडि बढाउँदै छौँ । घटनामा संलग्नलाई सरकारी वकिलमार्फत आइतबार अदालतमा उपस्थित गराउँछौँ ।’

एसपी केसीले पीडित परिवारको मागअनुसार सबै तरिकाबाट अनुसन्धान गरेको र सबैलाई प्रहरी कार्यालयमै बोलाएर अनुसन्धानका रिपोर्टहरू प्रस्तुत गराएको जानकारी दिए । तर, पीडित परिवार र स्थानीयले भने आत्महत्या नभई हत्या भएको भन्दै शुक्रबार पनि आन्दोलन गरेका छन् । उनीहरूले केही दिनदेखि सिद्धार्थ राजमार्गमा लगातार प्रदर्शन गर्दै आएका छन् ।

सीताकी आमा पुनम भण्डारीले भने छोरीको लास सिरानीमाथि हुनु, अनुहारमा रगत हुनु, घटनाबारे आफूहरूलाई ढिला खबर गर्नुले हत्या नै गरेको हो भन्ने पुष्टि हुने भन्दै हत्या अभियोगमा मुद्दा अघि बढाउन माग गर्दै आएकी छिन् । प्रहरीले भने घटनास्थलमा भेटिएको सीताको आइफोन मोबाइलको नोटमा मृत्युअघि सुसाइड नोट लेखेको पाइएको बताएको छ । घटनास्थलमा सीताको मोबाइल फोन भेटिएको थियो ।

‘मृतक सीता र उनका पतिबीच आदानप्रदान हुने म्यासेज विश्लेषणका लागि सो मोबाइल सेट ‘डिजिटल फोरेन्सिक ल्याब’ पठाइएको थियो,’ प्रहरी प्रतिवेदनमा उल्लेख छ, ‘ल्याबले सो मोबाइल सेटमा भेटिएको रोमन अक्षरमा लेखिएको ‘सुसाइड नोट’ र उनका श्रीमान् टीका पौडेलबीच हुने गरेको एसएमएसको ‘प्याटर्न’ मिलेको भन्ने प्रतिवेदन दिएको छ ।’

एसपी केसीका अनुसार आत्महत्याअघि राति १२ बजेर १७ मिनेटमा सुसाइट नोट लेखिएको थियो । ‘सुसाइट नोटमा …..मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म सकिनँ बाँच्न’ भनेर लेखिएको एसपी केसीले बताए । घटनापछि आफन्तले सुरुमा आत्महत्या दुरुत्साहनको किटानीसहित जाहेरी दिएका थिए ।

सोही आधारमा प्रहरीले सीताका श्रीमान् टीका पौडेल, जेठाजु हरि पौडेल र आमाजू विष्णु पौडेललाई नियन्त्रणमा लिइएको थियो । केही दिनपछि आफन्तले हत्याको किटानी जाहेरी दिएका थिए । त्यससँगै सीताको शव नउठाई उनीहरूले अनुसन्धानमा थप दबाब दिएका थिए । सीताको शव अहिले पनि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमै छ ।

कमेन्टहरु