एमालेमा उपमहासचिव पद नै खारेज, उपाध्यक्ष ५ जना र सचिव ६ जना रहने व्यवस्था


काठमाडौं । नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । एमालेले उपमहासचिव पद खारेज गरेको छ भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहने व्यवस्था गरिएको छ ।
ललितपुरको गोदावरीमा शुरु गरिएको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ५ जना रहने व्यवस्था छ । यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा ३ जना मात्र उपाध्यक्ष रहने व्यवस्था थियो । यद्यपि यसलाई ७ बनाउनुपर्नेमा नेताहरुको जोड थियो ।
यस्तै यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो । अहिले उपमहासचिव पद नै खारेज गरेको छ । सचिवको संख्या ७ बाट घटाएर ६ मा झारिएको छ । नयाँ प्रस्तावमा ‘अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –६ र सदस्य २१२ समेत कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने’ भनिएको छ ।
साथै प्रदेश कमिटीका अध्यक्षहरुलाई केन्द्रीय कमिटीको पदेन सदस्य रहने समेत विधान संशोधन प्रस्तावमा उल्लेख गरिएको छ ।






















