पोखरामा एक किशोरी शंकस्पद मृतावस्थामा भेटिए


पोखरा । पोखरामा एक किशोरी मृतावस्थामा भेटिएकी छिन् । पोखरा अधिकारी टोलस्थित बन्द कोठाभित्र बाजुराको जगन्नाथ –१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह मृतावस्थामा फेला परेकी हुन् ।
स्थानीयले बन्द कोठाबाट दुर्गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेपछि ताला फोरेर हेर्दा किशोरीको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले कोठाको ढोका फोरेर खानतलासी गर्ने क्रममा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट (नोट) भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए ।
उनका अनुसार श्रीमान बिष्टले लेखेको चिटमा आफू कामबाट फर्किदा श्रीमती कोठाभित्र झुन्डिइरहेको अवस्थामा भेटेको उल्लेख गरेका छन् । श्रीमतीको खुशीका लागि आफुले दुःख कष्ट भोग्दै आएको बताउँदै उनको आत्महत्यापछि आफू बाँच्नुनै अर्थ नरहेकाले सेतीमा हाम फालेर आत्महत्या गर्ने उल्लेख गरेका छन् ।
कोठामा चिट लेखेर बेपत्ता भएका श्रीमान गणेशको खोजी कार्य गरिरहेको डिएसपी हमालले बताए । ‘श्रीमान गणेशले श्रीमतीले आत्महत्या गरेको भन्दै आफु बाँच्नुको अर्थ नभएकाले आत्महत्या गर्ने उल्लेख गरेर फरार भएकाले उनको खोजी भइरहेको छ,’उनले भने, ‘प्रहरीले उनको अवस्थाको वारेमा आवश्यक अनुसन्धान गरिरहेकाले छिटै वास्तविकता पत्ता लाग्छ,’ डीएसपी हमालले बताए ।
मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्या गरिएको हो वा आत्महत्या भन्ने खुल्ने बताए । निरुताको परिवारले उनको आत्महत्या नभई हत्या भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दिएको छ । निरुताका बुबा नन्दबहादुरले गणेशविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन् । नन्दबहादुरले आफ्नी छोरीको हत्या नै भएको दावी गरेका छन् । छोरीले आत्महत्या गरेको भए कोठा भित्रबाट ढोकाको चुकुल लगाइनु पर्नेमा भित्र चुकुल नलगाइ बाहिरबाट मात्र लगाइएकाले हत्या नै भएको उनको दावी छ ।
निरुता र गणेशबीच २०७७ भदौमा प्रेम विवाह भएको थियो । निरुताको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।






















