संसद् चल्न नदिने एमालेको रणनीति


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ । संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनु परेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो । आफ्नै पार्टीका कारण साढे दुई महिनाअघि सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओली संघीय संसद्लाई भूमिकाविहीन बनाउन सक्रिय छन् ।
प्रधानमन्त्री हुँदा पनि उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेका थिए । उनको कदमलाई दुईपटक नै सर्वोच्च अदालत अवैध ठहर गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गरेको थियो । ओली अहिले पनि संसद् चल्न नदिने रणनीतिमा छन् । पार्टीका असन्तुष्ट १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयनमा नल्याएको भन्दै एमालेले संसद् चल्न दिएको छैन ।
सत्ताबाट बाहिरिनुपरेको आक्रोश एमालेले संसद् बैठक चल्न नदिएर पोखेको कांग्रेसका एक नेताले बताए । ‘माधव नेपालसहित १४ जनालाई कारबाही गरिएन भन्ने एमालेको बहानामात्र हो,’ ती नेताले भने, ‘पाँच वर्ष ढुक्कले सत्तामा बसिन्छ भन्ने थियो । तर उहाँहरू आफ्नै कारणले सत्ताच्युत हुनुभयो । त्यसको आक्रोश पूर्वप्रधानमन्त्री ओलीमा देखिन्छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।






















