देश

३८ क्विन्टल सुन तस्करी प्रकरण : गोरेकी पत्नीसहित १३ प्रतिवादीको प्रतिरक्षामा बहस

नवलपुर टुडे
२०७८ अशोज १४ | मध्यान्ह ०७:०६ बजे

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा पत्ता लागेको ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दामा बिहीबार १३ जना प्रतिवादीको प्रतिरक्षामा बहस भएको छ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा बहस भएको हो। मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीकी पत्नी नीरु भनिने नर्वदा खरेल र तस्करीको सुनका मुख्य लगानीकर्ता भनिएका भुजुङ गुरुङसहितका प्रतिवादीको पक्षमा कानुन व्यवसायीले बहस गरे।

१३ जना प्रतिवादीको पक्ष लिँदै दुई जना वरिष्ठ अधिवक्तासहित १५ जना कानुन व्यवसायीले बहस गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए। उनका अनुसार वरिष्ठ अधिवक्ताहरु सुरेशलाल श्रेष्ठ, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरु सागर घिमिरे, भरतबहादुर थापा, देवीबहादुर घिमिरे, बलराम सुवेदी, हेमराज पन्त, ज्ञानेन्द्र थापा, बासुदेव ज्ञवाली, गणेशप्रसाद लुइँटेल, प्रवीण सुवेदी, विकाश थापा, डिल्लीबहादुर कार्की, सीताराम राई र देवेन्द्र कोइरालाले प्रतिरक्षा बहस गरेका हुन्।

कानुन व्यवसायीले खरेल र गुरुङसहित प्रतिवादी तुलाराम थारु, ठाकुरप्रसाद ढुंगाना, रोशन भनिने गुप्तलाल भुसाल, मदन सिलवाल, बाला दाइ भनिने बालकृष्ण खड्का, हेमन्त गौतम, भोजे मामा भनिने भोजराज भण्डारी, लाक्पा शेर्पा, राजन कुमार, दोराम खत्री र चाचा जी भनिने महावीरप्रसाद गोल्यानका पक्षमा बहस गरे। मुद्दाका चर्चित अभियुक्तमध्ये दुवईबाट तस्करी गरेर ल्याइएको सुनको मुख्य लगानीकर्ता भनिएका गुरुङको पक्षमा अधिवक्ताहरु सागर घिमिरे, भरतबहादुर थापा र देवीबहादुर घिमिरेले बहस गरेका छन्।

गोरेकी पत्नीको पक्षमा अधिवक्ता विकाश थापाले बहस गरे। भोजे मामा भनिने भोजराज भण्डारीको प्रतिरक्षामा विकाश थापा र देवेन्द्र कोइरालाले बहस गरेका छन्। २०७५ वैशाख १९ गते अदालतमा मुद्दा दर्ता भए पनि फरार भएर तीन महिनअघि मात्रै भण्डारी मोरङ अदालतमा हाजिर भएका थिए। उनी अदालतको आदेशबाट अहिले थुनामा छन्। दुवईबाट तस्करी गरेर नेपाल ल्याइएको सुन घरमा राखेर अन्यत्र ‘सप्लाई’ गर्ने धन्दामा संलग्नता देखिएपछि भण्डारीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको हो।

त्यस्तै चर्चित प्रतिवादीमध्येका चाचा जी भनिने महावीरप्रसाद गोल्यानको पक्षमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले बहस गरे। विदेशबाट तस्करी गरेर ल्याइएको सुन गोरेको समूहबाट लिएर भारततिर ‘सप्लाई’ गर्ने धन्दामा संलग्नता पाइएपछि व्यापारी गोल्यानलाई पनि मुद्दामा प्रतिवादी बनाइएको हो।

तुलाराम थारु नेपाल एयरलाइन्सका गाडी चालक र हेमन्त गौतम तथा दोराम खत्री थाइ एयरलाइन्सका कर्मचारी हुन्। दुवईबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रने तस्करीको सुन व्यवस्थापन गर्दै उनीहरुले गोरेको समूहलाई जिम्मा लगाउने गरिरहेको अनुसन्धानबाट खुलेको थियो। दुवईका ट्राभल्स एजेन्सी सञ्चालक ठाकुरप्रसाद ढुंगानाले गोरेको समूहसँग साँठगाँठ गरेर नेपालतिर सुन पठाउने गरेको खुलेको हो।

दुवईमा बसेर अपराधिक क्रियाकलापमा संलग्न रहेका रोशन भनिने गुप्तलाल भुसालले गोरेसँग मिलेर नेपालतिर सुन तस्करी गरेको पत्ता लागेको थियो। दुवईबाट आएको सुन किन्ने र बिक्री तथा विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा मदन सिलवालको संलग्नता पाइएको हो। अनुसन्धानबाट खुले अनुसार उनी नेपालमै बसेर सुनको व्यापार गर्ने व्यापारी हुन्। बाला दाइ भनिने बालकृष्ण खड्का सुन तस्करका सहयोगीको भूमिकामा देखिएका छन्।

लाक्पा शेर्पा र भारतीय नागरिक राजन कुमार गोरेका सवारी चालक हुन्। सवारी चालकको रूपमा काम गरेर उनीहरुले दुवईबाट नेपालमा सुन तस्करी गर्न र तस्करीको सुन भारततिर ‘सप्लाई’ गर्न गोरेको समूहलाई सहयोग गरेको अनुसन्धानबाट पत्ता लागेको हो।

प्रतिवादीको पक्षमा बहस गर्दै कानुन व्यवसायीहरुले हचुवाका भरमा मुद्दा चलाइएको दाबी गरेका छन्। उनीहरुले मुख्य प्रमाणका रूपमा देखाइनुपर्ने सुन नै बरामद नभइकन जथाभावि मुद्दा चलाइएको भन्दै प्रतिवादीले सफाइ पाउनुपर्ने जिकिर गरे। सुन तस्करी र सनमको हत्यामा संलग्नता नरहेको भन्दै बहसका क्रममा कानुन व्यवसायीले प्रतिवादीको बचाउ गरेका थिए।

जिल्ला अदालत मोरङमा मुद्दाको अन्तिम सुनुवाइ गत आइतबारदेखि जारी छ। अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाका अनुसार फैसलाको चरणमा रहेको मुद्दामा प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सकिएपछि वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलले प्रतिउत्तर बहस गर्ने छन्। प्रतिरक्षा र प्रतिउत्तर बहस सकिएपछि अरु थप विषय बुझ्न नपरेमा अदालतबाट मुद्दाको फैसला हुने जानकारी राणाले दिए। उनका अनुसार दसैंअगाडि नै मुद्दाको फैसला गर्ने तयारी छ।

मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको छ। २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले मुद्दा दर्ता गरेको थियो। १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ।

सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको दाबी सरकार पक्षको छ। तर तस्करी गरेको भनिएको सुन भने अझैसम्म फेला परेको छैन।

तस्करी गरेर दुवईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोप लगाउँदै गोरेसहित उनको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै सनमको हत्या गरेको हो। सनम हत्याको अनुसन्धान गर्दा ठूलो परिणाममा विदेशबाट नेपालतिर सुन तस्करी भइरहेको पत्ता लागेको थियो। साभार : अन्नपूर्ण पोष्ट

कमेन्टहरु