देश

रुकुम पूर्व पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

नवलपुर टुडे
२०७८ अशोज १४ | मध्यान्ह ०२:०६ बजे

रुकुम । रुकुम पूर्वलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। नेपालको कान्छो जिल्लाको रूपमा स्थापित रुकुम पूर्वलाई नेपालको ६१औँ जिल्लाका रूपमा पूर्णखोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो।

स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले बुधबार सस्ने गाउँपालिकामा एक कार्यक्रम आयोजना गरी यहाँका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी दिएका हुन्।

सो अवसरमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन्।जिल्लाका जन्मेदेखि १५ महिनासम्मका एक हजार तीन सय बालबालिका र १६ देखि २३ महिनासम्मका नाै सय ३४ बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले जनाएको छ।

यसअघि जिल्लाका तीनवटै गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । तीनवटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख गौरव ढकालले जानकारी दिए। यो जिल्ला पूर्णखोप सुनिश्चित घोषणा भएसँगै लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्णखोप सुनिश्चित भएका छन्।

कमेन्टहरु