प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बालुवाटार स्रोतका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु र दैनिकी प्रशासनिक कामकारबाहीबारे छलफल हुनेछ।
प्रधानमन्त्री नियुक्त भएको लामो समय बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारका कामकारबाही प्रभावित हुँदै आएका छन्। देउवाले बिहीबार बिहान १० बजे सर्वदलीय बैठक पनि बोलाएका छन्।
संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई प्रधानमन्त्रीले बैठकमा बोलाएको देउवाको सचिवालयले जनाएको छ। सर्वदलीय छलफलमा संसद्को गतिरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ।
यस अगाडि राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले सरकारलाई गतिरोध अन्त्यका लागि पहल गर्न रुलिङ गरेका थिए।






















