गण्डकी प्रदेश

पोखरा बिमानस्थलको निर्माणकार्य सम्पन्न गर्न १६ प्रतिशत बाकी

नवलपुर टुडे
२०७८ अशोज १४ | बिहान ०८:०६ बजे

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ८४ प्रतिशत काम सम्पन्न भएको छ । चिनियाँ कम्पनी सिएएमसिईले १ नोभेम्बर २०१७ मा निर्माण थालेको विमानस्थल यसअघि १० जुलाई २०२१ भित्र सक्ने लक्ष्य लिएको थियो ।

कोरोना कहरका कारण लक्ष्य अनुरुप काम हुन नसक्दा विमानस्थल निर्माणको समय एक वर्ष थप गरेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्डभित्र रहेर फोर डी मोडलमा निर्माण भइरहेको यस विमानस्थल चीन सरकारको २२ अर्ब रूपैयाँ सहुलियत ऋणमा निर्माण भइरहेको छ ।विमानस्थलमा हाल चिनिया १ सय ८५ र नेपाली २ सय ३० जना कामदार काममा खटिइरहेका छन् । १ सय १० वटा हेभी मेसिनरी प्रयोग भइरहेका आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए ।

विमानस्थल निर्माणकार्य सम्पन्नता तर्फ गइरहँदा विमानस्थल सहजरुपले सञ्चालनका लागि चार वटा मुख्य चुनौति देखिएका छन् । विमानस्थल निर्माण आयोजना प्रमुख मुनकर्मीका अनुसार ल्याण्डफिल साईड अन्यत्र सारीसक्नुपर्नेमा अहिलेसम्म त्यसमा तदारुकता देखाएको छैन । ल्याण्डफिल साइडकै कारण फोहोर खाने चराको ओहोर दोहोरका कारण बर्ड ह्याजर्ड(द्यष्चम ज्बवबचम)को समस्या आउन सक्ने आयोजना प्रमुख मुनकमी बताउँछन् ।

निर्माण आयोजनाको तर्फबाट महानगरलाई पटकपटक यससम्बन्धमा ध्यानाकर्षण गराएको भएपनि महानगरले सुनुवाई नगरेको उनको गुनासो छ । चरा विज्ञलाई उदृत गर्र्दै उनले चराको बानी परिवर्तन गर्न नै ६ महिना लाग्ने भएपनि अहिलेसम्म ल्याण्डफिल साईडको स्थानान्तरणको प्िरक्रया नथालिँदा समस्या छ । अर्को समस्या विमानस्थलको बाहिरी भागबाट पानीको उचित निकास नहुँदा विमानस्थल निर्माण भएर सञ्चालनमा अर्को समस्य छ ।

उनका अनुसार विमानस्थल बाहिर वर्षातको समयमा बग्ने पानी, भित्री सडक र पृथ्वी राजमार्गको नालाबाट र सिंचाई नहरबाट बगेर आउने पानीको कारण विमानस्थलको पूर्वीभागमा बाढी पहिरोको समस्या उत्पन्न भएको छ । यसको पनि समयमा निकास निकाल्नुपर्ने उनले औल्याएका छन् ।

अर्को समस्या उडानको मुखमा पर्ने रिठ्ठेपानी डाँडा खार्नका लागि स्थानीयस्तरबाट निजी जग्गा कटान सुरु भए पनि ठोसरुपमा अगाडि बढ्न सकेको छैन ।

अबको तीन महिनामै आन्तरिक उडानको तयारी
निर्माण भइरहेको पोखरा विमानस्थल आगामी १ जनवरीदेखि सञ्चालनको तयारी थालिएको छ । अबको तीन महिनामै आन्तरिक उडान थाल्ने योजना रहेको विमानस्थलका प्रमुख विक्रम गौतमले बताए ।

उनका अनुसार आगामी वैशाखदेखि अन्तर्राष्ट्रिय उडान नै सञ्चालन गर्ने तयारी छ । विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणलाई नीतिगत निर्णय लिन र आवश्यक समन्वय गर्न आग्रह गरिसकिएकोे गौतम बताउँछन् । यद्यपी १ जनवरी २०२२ मा आन्तरिक उडान भर्ने तयारीलाई उनले आफूहरको महत्वाकांक्षी तयारी भनेका छन् ।

अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि आन्तरिक उडान थालेर तयारी अघि बढाउन सजिलो हुने गौतमले बताए । गौतम पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न गठन गरिएको विमानस्थल सञ्चालन तथा स्थानान्तरण समितिका संयोजक समेत हुन् । विमानस्थल सञ्चालनको पहिलो दिनदेखि नै कुनै पनि बाधा अवरोध नहुने गरी सञ्चालन हुन सक्ने उनको भनाइ छ ।

विमानस्थल सञ्चालन गर्न आवश्यक मानवीय संशाधन र उपकरणका बारेमा अध्ययन गरिसकेको समेत गौतमले बताए । ‘विमानस्थल सञ्चालन गर्न आवश्यक दक्ष मानव संशाधन कस्तो चाहिन्छ भनेर काम गरेका छौं,’ उनले भने, ‘आकाशमा उडान भर्न एरिया तोक्न हाम्रो टिम सक्षम छ, कुनै समस्या छैन ।’ पाइलटले हेरेर उड्ने नियमबाट उडान भर्ने काम गरिरहेको भन्दै गौतमले अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै संरचना बनिसकेकाले अहिले पोखरा विमानस्थलबाट दिएको सेवा अझ प्रभावकारी बनाउन सकिने बताए । उनले अन्तर्राष्ट्रिय उडान भर्न दिल्ली, हङकङ, दोहा र बैंककसँग सहकार्य र सम्पर्क हुनुपर्ने बताएका छन् ।

दलबलसहित अनुगमनमा मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशका मन्त्रीहरुसहित दलबल लिएर बुधबार निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरेका छन् । विमानस्थलको निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिका बारेमा बुझ्न मुख्यमन्त्री सहितको टोली विमानस्थल पुगेको हो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना समयमै निर्धारित समयमै सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

प्रदेशको समृद्धिसँग जोडिएको यो विमानस्थललाई अधिकभन्दा अधिक प्रयोग गरी स्वदेशी र विदेशी पर्यटक पोखरा भित्र्याउनुपर्र्नेे उनको भनाइ थियो । पोखरामा विदेशीबाट सिधै उडान सञ्चालनका लागि गर्नुपर्ने तयारी अहिलेबाटै थाल्नुपर्ने भन्दै उनले सुरक्षा, भन्सार, अध्यागमन कार्यालय सञ्चालनका लागि पनि पहल गर्नुपर्ने बताए ।

अहिले विमानस्थल नजिकै ल्यान्डफिल साइट रहेको त्यसले उडानमा समस्या पार्ने भएकाले तत्काल विकल्प खोज्न उनले सम्बन्धित पक्षसँग आग्रह गरे । विमानस्थल निर्माण भइरहँदा पानीको निकास मुख्य समस्या देखिएको भन्दै मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । पोखराको धेरैजसो भागको पानीको निकास यही विमानस्थल आसपास भएको त्यसको व्यवस्थापन नहुँदा विमानस्थल नै खतरामा पर्न थालेको छ ।

मुख्यमन्त्री पोखरेलले भने, ‘स्थानीय नागरिकले उठाएका सबाल तत्काल सम्बोधन गर्नुपर्ने छ, पानी र ढल व्यवस्थापनका लागि ३४ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएको छ, प्रदेशको स्रोतले मात्र भ्याँदैन, हामी केन्द्रसँग समन्वय गर्छौं ।’

अनुगमनमा मन्त्रीहरु कुमार खड्का, रामजीप्रसाद बराल जीवन, मणिभद्र शर्मा कँडेल, बिन्दुकुमार थापा, प्रमुख सचिव डा. दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सहभागी थिए ।

कमेन्टहरु