देश

नेपालमा प्रवेश गर्न नपाएपछि विमानस्थलबाटै अमेरिका नै फर्किए किरण गजमेर

नवलपुर टुडे
२०७८ अशोज १४ | बिहान ०७:०६ बजे

काठमाडौ । नेपालको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् ।

यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि नेपाल आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले प्रवेश गर्न नदिएको हो । किरण अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा बर्षमा अमेरिकी नागरिकहरुले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणले यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले जरिवाना समेत तिरेका थिए ।

किरण सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए । श्रोतका अनुसार, किरण ‘द भ्वाइस अफ नेपाल’को विजेता बनेर अमेरिका प्रस्थान गर्दा ‘ओभर स्टे’ वापत जरिवाना समेत तिरेका थिए । तर, यसपटक भने नेपाल आउँदा उनले जरिवाना तिरेको अपडेट विमानस्थलमा नभैसकेको र अपडेटका लागि केही समय लाग्ने भएपछि किरण अमेरिका नै फर्किएका हुन् ।

किरणलाई सन् २०२१ मा नेपाल प्रवेश गर्न गाह्रो रहेको बुझिएको छ । ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार, अध्यागमन विभागले अपडेट गरेपछि किरणलाई बोलाउने बताएको छ, तर यो बर्ष किरण नेपाल प्रवेश गर्न पाउने संभावना भने कम छ । किरण नेपालको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् ।

तर, १४ बर्ष अगाडि अमेरिकी सरकारले भुटानी शरणार्थीहरुलाई आफ्नो देश लैजाने क्रममा उनी अमेरिका पुगेका थिए । भुटानी शरणार्थी शिविरबाट उठेर किरणले गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । ‘द भ्वाइस अफ नेपाल ३’को विजेता बन्दै किरणले नेपाली सांगीतिक क्षेत्रलाई विदेशमा समेत चिनाउन ठूलो भूमिका खेलेका छन् ।

कमेन्टहरु